
म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषमा धार्मिक पुस्तकालय स्थापना गरिएको छ । मुक्तिनाथ प्रवेशद्वारको रुपमा बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर धाममा पुस्तकालय स्थापना गरिएको हो ।
पुस्तकालयमा पाँच सयभन्दा बढी धार्मिक पुस्तक राखिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्षमा धवप्रसाद रेग्मीले जानकारी दिए । ‘‘गलेश्वरमा आउने भक्तजन तथा आगन्तुकलाई लक्षित गरेर पुस्तकालय स्थापना गरेका हौँ, यहाँ बैदिक सनातनधर्मसँग सम्बन्धित सबै विधाका पुस्तक राख्ने लक्ष्य छ, गण्डकी क्षेत्रकै उत्कृष्ट धार्मिक पुस्तकालय बनाउने योजना छ”, उनले भने ।
गलेश्वर शिवालयमा हुने धार्मिक यज्ञ, अनुष्ठानमा धार्मिक पुस्तकको अभाव हुन नदिन र धार्मिक व्यक्तिलाई धार्मिक पुस्तकको अध्ययन गर्न पुस्तकालयबाट सहयोग पुग्ने स्थानीय लोकेन्द्र खड्काले बताए । पुस्तकालयमा १८ पुराण, १८ उपपुराण, ४ वेद, उपनिसद्, धर्म सिन्दू, निर्णय सिन्दू, गीता, भागवतलगायतका पुस्तक राखिएका छन् ।
पुस्तकालय बनाउन धवलागिरि गाउँपालिका–७ ताकम घर भई हाल अमेरिकामा रहेका रघुनाथ सुवेदीको नेतृत्वमा रु ६ लाख ३० हजार सहयोग प्राप्त भएको छ । पुस्तकालयको फर्निचर र कोठा व्यवस्थापन तथा पुस्तक खरिदमा सुवेदीले व्यक्तिगत रु चार लाख ४५ हजार तथा गुर्जाका तेजेन्द्र छन्त्यालले रु एक लाख ३० हजार सहयोग गर्नुभएको कोषकाअध्यक्ष रेग्मीले जानकारी दिए ।
पुस्तकालयका लागि प्राप्त सहयोग रकम रु ७० हजार बचत रहेकाले उक्त रकमबाट समेत थप धार्मिक पुस्तक खरिद गरिने कोषले जनाएको छ । धार्मिक पुस्तकालयमा रहेका पुस्तकलाई जिल्लामा हुने विभिन्न धार्मिक यज्ञ, अनुष्ठानमा समेत आवश्यक परेका समयमा उपलब्ध गराइने छ । गलेश्वर क्षेत्रमा आउने भक्तजनलाई लक्षित गरेर अहिले दैनिक रुपमा बिहान ११ देखि दिउँसो २ बजेसम्म नियमित रुपमा पुस्तकालय खुला राख्ने गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।