पोखरा, साउन १७
पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली आज भारतमा भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । पोखरा महानगरपालिका, नेपाल पर्यटन वोर्डलगायतको सहयोगमा पर्यटन प्रवद्र्धनका लागि भारत हिंडेको टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले विदाई गरे ।
नेपालको कास्कीदेखि भारतको कन्याकुमारीसम्मको भ्रमणलाई ‘केटुके’ नाम दिइएको पर्यटन प्रवद्र्धनात्मक भ्रमण अगष्ट १ देखि शुरु भएर २५ अगष्टमा सम्पन्न हुनेछ । विहीबार कास्कीको पोखराबाट शुरु भएको भ्रमण रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोंडिचेरी, रामेश्वरम, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्लीहुँदै पुनः पोखरामै आएर समापन हुनेछ ।
‘डुलुवा’ टोली १९ जनाको छ भने ४ वटा गाडीमा उनीहरुले यात्रा गर्नेछन् । ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकहरूलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउनु रहेको ‘डुलुवा’ टोलीका संयोजक योगेश भट्टराईले जानकारी दिए । टोलीले हरेक सहरमा पुगेर स्थानिय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्र्तक्रिया गर्ने उनले बताए । ‘हामी यात्राका क्रममा भेटिएका पर्यटकीय स्थलहरुको उजागर गर्ने, पोखरा आउन निमन्त्रणा दिदै यहाँका पर्यटकीय गन्तव्यहरु, प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको प्रवद्र्धन गर्नु तथा नेपाल–भारत बीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयास गर्नेछौं ।’
टोलीलाई विदाई गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भ्रमणले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘टोली भ्रमणमा गएर पर्यटन प्रवद्र्धन गर्नेछ, जसको आउटपुट आगामी दिनमा भारतीय पर्यटकको पोखरा भ्रमण बढ्नेछ भन्नेमा हामी विश्वस्त छौं ।’
भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेलले भ्रमणले भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘भ्रमणले पर्यटन प्रवद्र्धन त गर्ने नै छ, सँगसँगै भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन मद्दतपनि गर्नेछ’–उनले भने ।
नेपाल पर्यटन वोर्ड पोखरा कार्यालय प्रमुख नवीन पोखरेलले पर्यटनको ठूलो बजार भारतमा गएर ‘डुलुवा’ टोलीले प्रवद्र्धन गरेपछि त्यसको प्रभाव बिस्तारै पोखरामा देखिनेछ भन्ने विश्वास छ ।’
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले ‘डुलुवा’ टोलीलगायतको भ्रमणले पोखरामा १५ लाख पर्यटक भित्राउने पोखरा महानगरपालिकाको लक्ष्य भेट्टाउन मद्दत पुग्ने बताए । ‘पोखरा महानगरले १५ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । पोखरालाई पर्यटनको राजधानीपनि घोषणा गरिएको छ । यसलाई सफल पार्न यस्ता भ्रमणहरु फलदायी हुन्छन् भन्ने लाग्छ’–उनले भने ।
नेपाल पर्यटन वोर्डका पूर्व सदस्य तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले डुल्नु, घुम्नुको मज्जा र महत्व छुट्टै रहेको बताए । ‘यो प्रवद्र्धनात्मक भ्रमण नेपाल र पोखराको पर्यटन उकास्न कोशेढुंगा सावित हुनेछ । अनि भ्रमणमा जानेलेपनि पर्यटनमा व्यवसायीकता सिकेर आउनेछन्’–उनले भने ।
नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’लाई युवालक्षित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन २०२० मा यो स्थापना भएको हो । त्यसपश्चात यस ‘डुलुवा’ अभियान अन्तर्गत ७० जिल्लाको भ्रमण भइसकेको छ । ‘पहिलो देश अनि विदेश’ भन्ने नारालाई आत्मसाथ गर्दै आएको ‘डुलुवा’ले नेपालसँगै भारतको लेहलद्दाखसम्मको यात्रासमेत गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।