एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठलाई कञ्चन पत्रकरिता पुरस्कार


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८१ मा प्रकाशित




साउन १७ पोखरा । एभरेस्टकर्मि दीपेन्द्र श्रेष्ठलाई कञ्चन पत्रकारिता पुरस्कार–२०८१ गरिने भएको छ । नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित सो पुरस्कार एभरेस्टकर्मी श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई प्रदान गरिने भएको हो ।

प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । पुरस्कार फोनिजको स्थापनाका दिवसको अवसर पारेर यही साउन २७ गते अर्पण गरिने जनाइएको छ ।

फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले श्रेष्ठ र रानामगरको नाम सिफारिस गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीस मगर र महासचिव धनबहादुर गुरुङ थिए ।

पुरस्कृत हुन लागेका एभरेस्ट एफ एमका बरिष्ठ प्रस्तोता तथा एभरेस्ट आवाज डटकमका सम्पादक श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष र पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशका सल्लाहकार छन् ।

यस्तै रानामगर नवलपुरको मध्यविन्दु एफ.एममा कार्यरत छिन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) की संघीय सदस्य हुन । भने, फोनिज गण्डकी प्रदेशकी संस्थापक उपाध्यक्ष पनि हुन् ।

पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।