पोखरा, साउन २०
पोखरामा एक पसल सञ्चालकले वीमाको लोभमा परेर आफ्नो पसलमा आफैले आगो लगाएका छन् । स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका वडा नम्बर(४ घर भई पोखरा(१७ विरौटा बस्ने सुजन विकले वीमा रकम पाउने लोभमा परेर आफ्नै मदिरा, कस्मेटिक र ग्रोसरी पसलमा आफैले आगो लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो । उनले साथी पवन नेपालको सहयोगमा आगो लगाएको प्रहरी अनुसन्धानले पुष्टि गरेको कास्की प्रहरीले आइतबार अपराह्न पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
विकले पोखरा(६ लेकसाईडमा सञ्चालन गरेको मुक्तिनाथ सपिङ सेन्टर साउन १६ गते विहानीपख आगलागी भएको थियो । आगलागी लगत्तै स्थानियले कास्की प्रहरीलाई जानकारी गरायो । स्थानिय र दमकलको सहयोगमा प्रहरीले आगलागी ढिला गरेर नियन्त्रणमा लियो । आगलागीबाट कुल २ करोड २५ लाख क्षेती पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । जसमा पसलमा रहेको सामानको १ करोड ५० लाख र आगलागी भएर घरमा ७५ लाखको क्षेती भएको बताइएको छ ।
घटनापछि सञ्चालक विकले ईन्भर्टर सर्ट भएर आगलागी भएको बताए । तर कास्की प्रहरीले विकको भनाईमा शंका लागेपछि अनुसन्धान अगाडि बढायो ।
अनुसन्धानका क्रममा कास्की प्रहरीले विकले आफ्नै साथी पवन नेपालको सहयोगमा आगो लगाएको पत्ता लगायो । शुरुमा विद्युत सर्ट भएर आगलागी भएको हो कि भनेर विद्युत प्राधिकरणसँग परामर्श गरेको प्रहरीले विद्युतमा कुनै समस्या नआएको देखेपछि ईन्भर्टर सर्ट भएर हो कि भन्नेबारे प्राविधिक पक्ष बुझ्न थाल्यो तर ईन्भर्टर सर्ट आगलागी नहुने निश्कर्ष निस्किएपछि प्रहरी अनुसन्धान सञ्चालकतिरै सोझियो ।
शुरुमा प्रहरीले बीमाको लोभमा परेर आगो लगाएको आशंका गर्दै सोधपुछ ग¥यो । तर सञ्चालक विकले त्यसलाई ईन्कार गर्दै आफूले पसलको बीमा नगरेको जवाफ दिए । तर प्रहरीलाई बीमा नगरेको बताएका विकले आगलागी भएको भोलिपल्टै बीमा कम्पनीमा बीमा दाबी गर्दै निवेदन दिएको देखियो । त्यस क्रममा बीमा कम्पनीले प्रहरीको रिपोर्ट माग गरेपछि उनले जिप्रका कास्कीमा बीमाका लागि प्रहरी रिपोर्ट दिन भन्दै निवेदन दिए । यसले थप आशंकित भएको प्रहरीले सञ्चालक विकलाई केन्द्रीत गरेर अनुसन्धानको गति बढायो । त्यस क्रममा विकले पसलको २ करोड १० लाखको ५ महिना अगाडि मात्र बीमा गरेको देखियो । त्यसपछि सिसी क्यामराको फुटेज हेर्दा विक आफैले साथीको सहयोगमा आगो लगाएको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न थाल्यो । त्यस क्रममा उनले व्यवसायमा निरन्तर घाटा भएपछि बीमा रकम असुलीका लागि आफैले आगो लगाएको बयान दिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिए ।
प्रहरीका अनुसार विकले आफ्नै साथी पवन नेपालको उक्साहट र सहयोगमा आगो लगाएका हुन् । विकलाई आगो लगाउन सहयोग गर्ने पवन सफल ह्याचरी तथा पोल्ट्री फार्म सञ्चालक हुन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेतासमेत रहेका उनले गत वर्षको असोजमा आफ्नै पोल्ट्री फार्ममा आगो लगाएर ३१ लाख बीमा लिएकोसमेत अनुसन्धानमा खुलेको एसपी थापाले बताए । ‘आफूले आगो लगाएर बीमा रकम असुलेको भन्दै पवनले विकलाईपनि त्यसै गर्न सुझाएको देखियो । उनकै सुझाव र सहयोगमा विकले आफ्नो पसलमा आगो लगाएको खुलेको छ’(उनले भने । पवन र विक साथी भएको र उनीहरुबीच आर्थिक कारोबारपनि रहेको र आगलागीपछि बीमाबाट प्राप्त रकममध्ये १० लाख पवनलाई दिने सहमती भएपछि आगो लगाएको देखिएको एसपी थापाले बताए ।
प्रहरीका अनुसार पवनले पानी परेको दिन स्थानिय सबै सुत्ने र त्यसपछि आगो लगाउँदा कसैलेपनि थाहा नपाउने भनेपछि त्यसै गर्ने सहमति भयो । सोहि अनुसार साउन १६ गते पवनको गाडीमा स्प्रिट बोकेर दुबैजना पसलमा पुगे,एसपी थापाले भने,‘पसल खोलेर स्प्रिट छर्केपछि विक निस्किए । त्यसपछि नेपालले बलेको चुरोट पसल भित्र फालेर आगो लगाए र त्यहाँबाट निस्किएर विकको पछिपछि लागे ।’ घटना घटाएको विक र पवन दुबैले स्वीकारीसकेको उनले बताए ।
एसपी थापाले कास्कीमा बीमाका लागि आफ्नो पसलमा आफैले आगो लगाएको पहिलो घटना हो । अन्य जिल्लामा त यस्ता घटना भएको देखिन्छ,उनले भने,‘तर कास्कीमा यस प्रकारको घटना यसअघि भएको देखिदैन । यो नै पहिलो घटना हो ।’
पक्राउ परेका दुबैलाई कास्की प्रहरीले आईतबार सार्वजनिक गरेको छ । उनीहरुलाई आपराधिक उपद्रव सम्बन्धी मुद्दा चलाएर जिल्ला अदालतमा ७ दिनको म्याद थप गरिएको कास्की प्रहरीले बताएको छ । यदी दोषी ठहरीमा २ देखि ५ वर्षसम्म कैद र २० हजारदेखि ५० हजारसम्म जरिवाना हुने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।…







