‘फेरिल’ उपन्यास सार्वजनिक


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०८१ मा प्रकाशित




डुम्रे । सीमान्तकृत अल्पसङ्ख्यक दरैर दराई समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण गरिएको छ । लेखक माधव बिडारीद्वारा लिखित सो उपन्यासमा सो समुदायको संस्कार, संस्कृति, अवस्था र मौलिकपनालाई समावेश गरिएको छ ।

उपन्यासकार बिडारीले भने, “करिब एक वर्षअघिसम्म मैले दरै समुदायका बारेमा सुनेको पनि थिइनँ । दरै जातिका अध्ययन तथा बुझ्ने हुटहुटीले दरैको बसोबासस्थल रहेर यस समुदायको इतिहास, संस्कृति, संस्कार र जीवनशैलीसम्मका विषय उपन्यासमा समेटेको छु ।”

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले आइतबार उपन्यासको लोकार्पण गर्दै दरै समुदायको संस्कार, संस्कृति र रहनसहनको विषयमा समेटिएर लेखिएको उपन्यासले समुदायसँग सम्बन्धित सबै कुराको संरक्षणको दायित्व बढाएको बताए । नेपाल दरै उत्थान समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिजबहादुर दरैले उपन्यासले समग्र जातिसँगै दरै समुदायलाई उपन्यासको कथाका मुख्य पात्र राखेर संस्कार, संस्कृति जोडिएको छ भने।

दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले उपन्यास ‘फेरिल’ले समुदायमा लुकेर रहेका विषयलाई समेटिएको बताए । उनले भने, “दरै समुदायको भाषा, संस्कार, संस्कृति, रहनसहन र बसाइँसराइका विषय उपन्यासले उजागर गरेको छ । यसले समुदायलाई सचेत गराउनेछ ।”रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।