बागलुङ पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

- १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

साउन २४ बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

बिहीबार दिउँसो पहिरोमा बेपत्ता थप एक जनाको शव फेला परेसँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो ।

१० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उनको भनाइ छ ।

यसअघि पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबारनै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीका अनुसार पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंँ लगिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।