पोखरा, साउन २४
पोखरामा डंगुको जोखिम बढेको छ । पोखरामा दिनहुँ डेंगु संक्रमितको संख्या बढेसँगै जोखिमपनि बढेको हो । यसअघिपनि पोखरा डेंगुको हट स्पट बनिसकेको ठाउँ हो । यस वर्षपनि संक्रमितको संख्या बढ्न थालेको भन्दै पोखरा महानगरपालिकाले सतर्कता अप्नाउन आग्रह गरेको छ ।
पोखरामा पछिल्लो चार महिनामा डेंगु संक्रमितको संख्या ३ सय ७१ पुगिसकेको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले पछिल्लो २४ घण्टामा ४५ जना डेंगुको संक्रमित थपिएको जानकारी दिए । पोखराकोपनि कोर सिटी एरियामा बढी जोखिम रहेको उनले बताए । महानगरले विहीबार आयोजना गरेको सचेतनामूलक कार्यक्रममा बोल्दै उनले भने,‘पोखरा–८ र ९ अझ बढी जोखिमयुक्त क्षेत्र हो । खास गरेर बसपार्क, जनघनत्व बढी भएको क्षेत्रमा यसको संक्रमण बढी छ । त्यस्ता क्षेत्रमा संक्रमणको गतिपनि तिव्र हुन्छ ।’
चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगु सर्छ । यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्छ । यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सँधैंभरी जोखिम भने रहीरहने स्वास्थ्यकर्मीको भनाई छ ।
पोखरामा २०७२/७३ सालदेखि डेंगु देखिन थालेको थियो । शुरुका तीनवर्ष पोखरामा एक÷एकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष एकैपटक बढेर ५७१ जना बिरामी भएका थिए । त्यसपछिको वर्ष भने त्यो संख्या बढेर झन्डै २ हजार पुगेको थियो । डेंगु फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ । खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ । त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







