फुर्सेखोलामाथिको झोलुङ्गे पुल हालसम्म मर्मत नहुँदा सास्ती


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०८१ मा प्रकाशित




सांकेतिक तस्बिर ।

पोखरा । दुुई वर्षअघि जग भत्किएको मालेपाटनबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने फुर्सेखोलामाथिको झोलुङ्गे पुल हालसम्म मर्मत नहुँदा सो पुलबाट आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

उक्त पुलको जग भत्किँदा मालेपाटनसहित तनहुँको सेराबेँसीलगायत ठाउँका सर्वसाधारण समस्यामा परिरहेका स्थानीय तारानाथ रिजालले बताए । नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित एक सय १९ मिटर लम्बाइको उक्त पुल कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको थियो ।

संरक्षणको अभावमा बर्सेनि फुस्रेखोलामा वर्षासँगै आउने बाढी र कटानले पुल भत्किएको स्थानीय महेश्वर पौडेलले उल्लेख गरे । यस क्षेत्रमा आवतजावत गर्न पुल अत्यावश्यक रहेको बताउँदै उनले यसतर्फ राज्यको ध्यान दिनुपर्नेमा जोड दिए।

पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकसँगै भुजिकोटलगायत स्थानका बासिन्दाका लागि यो पुल आवश्यक भएको स्थानीय नारायण पाण्डेले बताए ।

पुलको जग मर्मत गर्न पहल भएको बताउँदै पोखरा–३२ का वडाध्यक्ष कार्कीले यसका लागि प्रदेश सरकारबाट रु ३२ लाख बजेट विनियोजन भएको जानकारी दिए । पुलको मर्मतसँगै यसको केही माथिबाट अर्को पुलको निर्माण गर्ने योजनासहित पहल भइरहेको उनले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।