बाटुलेचौर ऐतिहासिक तीज मेलाको तयारीमा आमा समुह


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा । पोखरा १६ स्थित बाटुलेचौरको ऐतिहासिक तिज मेला यस वर्ष स्थानिय आमा समुहहरुले सञ्चालन गर्ने भएका छन ।
महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा बाटुलेचौरमा हुँदै आएको ऐतिहासिक तीज मेला वडाका आमा समुहहरुले निरन्तरता दिने भएका हुन् ।

यसअघि हिमालय क्लबले गर्दै आएको मेलालाई यस वर्ष वडामा सक्रिय स्थानिय आमा समुहले सञ्चालन गर्ने भएका हुन् । साबिकको आयोजक संस्था हिमालय क्लबले मेला सञ्चालन गर्न नसक्ने जनाएपछि ऐतिहासिक तीज मेलालाई निरन्ता दिने गरिस्थानिय आमा समुहहरुलाई जिम्मेवारी दिइएको वडा नम्वर १६ को कार्यालयले जनाएको छ ।

वडामा भएको मेला सञ्चालन सम्बन्धी भेलाले स्थानिय बडहरबोट आमा समूहलाई आयोजक र वडामा क्रियाशिल अरु आमा समूहहरुलाई सह–आयोजक रहने गरि जिम्मेवारी दिइएको वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।

शाह कालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेलाले मुलुककै पुरानो संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको तिमिल्सिनाको भनाई छ ।

मेला सम्पन्न गर्न वडा सदस्य राजकुमारी बानियालाई संयोजकको जिम्मेवारी दिइएको छ । तीज मेलामा विभिन्न समूह बिच तीज गीत प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, विभिन्न खेलकुद गतिविधी, शैक्षिक सम्मान लगायतका कार्यक्रम सञ्चालन गर्नेगरि तयारी भइरहेको सामाजिक विभेद बिरुद्ध सामाजिक रुपान्तरण अभियन्ता तथा वडा सदस्य मन्जु नेपालीले जानकरी दिइन् ।

राजा कुलमण्डल शाहको शासनकालतिरै पबित्र सेति नदी तथा ठुलीपोखरी नुहाएर आएका महिलाहरुले बाटुलेचौरको मैदानलाई बिश्रामस्थलको रुपमा प्रयोग गरि गीतमार्फत आफ्ना मनका बह पोख्ने थलोको रुपमा उक्त स्थानलाई लिएका थिए भन्ने भनाई रहँदै आएको पाइन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।