महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सघाउने मुख्यमन्त्री पाण्डेको आस्वासन

- स्थानिय उत्पादन र संस्कृति नहुने होमस्टेलाई अनुदान नदिइने


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०८१ मा प्रकाशित




पोखरा, साउन ३१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । महिला उद्यमी महासंघको आयोजनामा ‘महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरुको डिजिटाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरुको आर्थिक सशक्तिकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरुलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै उनले महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने बताएका हुन् । उद्यमशीलता नहुँदा महिला परनिर्भर बन्न बाध्य भएको बताउँदै उनले भने,‘उद्यमशीलतामार्फत महिलाको आम्दानी हुन्छ । यसले महिलाको जीवनस्तरपनि उकास्छ । र समग्रमा महिलालाई आत्मनिर्भर बनाउँदै महिला सशक्तिकरण गर्नपनि सघाउँछ ।’

मुख्यमन्त्री पाण्डेले घरबास (होमस्टे)मा पारिवारिक वातावरण हुनुपर्ने बताए । तर अहिलेका होमस्टेमा त्यस्तो वातावरण नहुनेगरेको बताउँदै उनले भने,‘होमस्टेमा स्थानिय संस्कृति र स्थानिय उत्पादन हुनुपर्छ । तर अहिले सहरबाट ब्रोइलर कुखुरा र तरकारी बोकेर पर्यटकसँगै गाउँ जान्छन् । यस्तो होमस्टे हुँदैन र यो राम्रो होईन ।’ उनले स्थानिय उत्पादन र स्थानिय संस्कृति नभएका होमस्टेलाई अबदेखि अनुदान नदिइनेपनि प्रष्ट्याए । गण्डकी प्रदेश पर्यटकीय प्रदेश भएको बताउँदै उनले त्यहि भएर पोखरालाई पर्यटकी राजधानी घोषणा गरिएको बताए । नेपाल आउने पर्यटकको पहिलो गन्तव्य काठमाडौं बाहिर पोखरा भएको बताउँदै उनले भने,‘तर उनीहरु कति आए भन्नेमा मात्र सिमित नहोऔं । बरु उनीहरुले कति खर्च गरे ? त्यसले उद्यमशीलतामा कति सघायो भन्नेमा ध्यान दिऔं ।’

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला सशक्तिकरण गर्न आर्थिक सशक्तिकरण जरुरी रहेको बताईन् । सामाजिक र पारिवारिक जिम्मेवारीले महिला उद्यमशीलतामा बाधा पुगेको बताउँदै उनले भनिन्,‘महिला उद्यमशीलता आजको आवाज र आवश्यक्ता हो । महिलाले उद्यमी र व्यवसायी बन्न पाउनु अधिकार हो । यसमा सबैले सहयोग गर्नुपर्छ ।’ उनले महिलालाई उत्पादनमा जोड्ने र ती उत्पादित सामग्रीको बजारीकरणमा सघाउनका लागि महासंघले डिजिटल मार्केटिङका लागि डिजिटल लिट्रेसी कार्यक्रम आयोजना गरेको बताईन् ।

गण्डकी प्रदेश सभा सदस्य दीपेन्द्रबहादुर थापाले विदेश जानेलाई यहिं गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यक्ता भएको बताए । महिलाहरुलाई आत्मनिर्भर बनाऔं,उनले भने,‘संस्कृति र प्रकृति बेचेर पर्यटनलाई समृद्ध बनाऔं ।’

महासंघकी कार्यकारी निर्देशक अभिलाषा पौडेलले स्ट्याण्डर्ड चार्टर्ड बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला उद्यमी तथा व्यवसायीहरुलाई उनीहरुको व्यवसायहरुको डिजिटाइजेसन गर्न सघाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिईन् ।

महासंघकी तृतीय उपाध्यक्ष तथा च्याप्टर अध्यक्ष बासन्ती प्रधानले महिलालाई आत्मनिर्भर बनाउँदै महिला सशक्तिकरणका लागि कार्यक्रम गरिएको बताईन् ।

कार्यक्रममा महासंघकी वोर्ड सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष पार्वती पौडेल रेग्मी, कास्की अध्यक्ष सरु बराल, बागलुङ अध्यक्ष उमा शाक्य, पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीलगायतले महिलालाई उत्पादनमा जोड्ने, ती उत्पादित सामग्रीको बजारीकरणमा सघाउने भन्दै त्यसका लागि सरकारलेपनि दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

महासंघले स्ट्याण्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा बागलुङको भकुण्डे सामुदायिक होमस्टे र अतिथि सत्कार होमस्टेका सञ्चालक तथा सञ्चालन गर्न ईच्छुकहरुलाई दुई हप्ते व्यवसायहरुको डिजिटाइजेसन सम्बन्धि तालिम दिएको हो । तालिममा सहभागीहरुलाई विहीबार पोखरामा समापन कार्यक्रमको अवसर पारेर प्रमाणपत्रपनि वितरण गरिएको थियो । सो अवसरमा महासंघले हामेस्टेका प्रत्येक सञ्चालकलाई होमस्टेमा आवश्यक पर्ने म्याट, प्रेसर कुकर, थर्मस, राईस कुकर, कित्लीलगायतको एक÷एक सेट भाँडाकुँडा तथा दुई होमस्टेलाई दुई÷दुई सेट वाद्यवादन सामग्रीहरु प्रदान ग¥यो । तालिममा सहभागीहरुले भने तालिम लिने अवसर प्रदान गर्नुका साथै सहयोगपनि प्रदान गरेकोप्रति महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीलाई सम्मान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।