पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि अर्जुन पोखरेलको प्यानल घोषणा

- महासचिवमा गौतम


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ १

पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अर्जुन पोखरेलको प्यानल घोषणा भएको छ । संघको यहि भदौ २८ र २९ गते हुने महाधिवेशनबाट नेतृत्व लिनका लागि पोखरेको प्यानल घोषणा भएको हो ।

संघको आगामी कार्यकालका लागि अध्यक्षमा पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । यसअघिको निर्वाचनमा पराजित पोखरेलले वर्तमान कार्यसमितिमा रहेकाहरुलाई समेटेर प्यानल घोषणा गरेका हुन् । यसअघि वर्तमान बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको प्यानलमा प्रस्तावितहरुलाई आफ्नो पक्षमा ल्याउँदै पोखरेलले शनिबार पत्रकार सम्मेलन गरेर प्यानल घोषणा गरे ।

कार्यकारिणी सदस्यबाट महासंघमा प्रवेश गरेका पोखरेल उपमहासचिवहुँदै महासचिव बनेपछि गत निर्वाचनमा पोखरेलले अध्यक्षको उम्मेदवार बनेका थिए । तर वर्तमान अध्यक्ष पवनकुमार प्रजापतीसँग पराजित भएका थिए ।

पोखरेल प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग)तर्फ दीनेश बास्तोला र उपाध्यक्ष (वाणिज्य)तर्फ बलराम आचार्य छन् । बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका बुद्धाचार्य वर्तमान वाणिज्यतर्फको उपाध्यक्ष हुन् भने आचार्य महासचिव हुन् । यसअघि आचार्य कार्की प्यानलबाट बरिष्ठ उपाध्यक्ष र आचार्य उपाध्यक्षको उम्मेदवार बन्ने चर्चा थियो ।

पोखरेल प्यानलबाट शोभा गौतमले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गौतम वर्तमान उपमहासचिव हुन् भने यसअघि उनी सदस्य भइसकेकी छन् । उनीपनि कार्की प्यानलबाट महासचिवको उम्मेदवार बन्ने चर्चा चलिरहँदा शनिबार पोखरेल प्यानलबाट उम्मेदवारी घोषणा गरिन् ।

त्यस्तै पोखरेल प्यानलबाट कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोईरालाले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठ र कोईराला वर्तमान कार्यसमिति सदस्य हुन् । पोखरेल प्यानलका सदस्यहरु भने घोषणा गरिएको छैन । यसअघि सदस्यहरुकोपनि नाम लिष्ट तयार भइसकेको बताइएपनि शनिबार घोषणा भने गरिएन ।

कार्कीलेपनि प्यानल बनाउने प्रयासलाई निरन्तरता दिइरहेका छन् । पहिले आक्रामक रुपमा अगाडि बढेका कार्की पोखरेलले आफ्नो समूहका आकांक्षीलाई समेटेर प्यानल घोषणा गरेपछि अहिले रक्षात्मक बनेका छन् । कार्कीले प्यानलका लागि तयारी भइरहेको र छिट्टै प्यानल घोषणा गरिने बताए ।

पोखरेल समूहले ५ बुँदे चासो र चिन्ता रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । पोखरेल समूहले व्यवसायीहरु अहिले घरभाडा, तलब, ब्याज र कर तिर्न ऋण लिनुपर्ने अवस्थाका कारण व्यवसायलाई निरन्तरता दिन नसक्ने अवस्थामा रहेको बताएको छ । सो समूहले व्यापार, व्यवसाय र कारोबार गिर्दो अवस्थामा रहेको, कृषिमा लागेकालाई राहत उपलब्ध गराउनु तथा फलफूललगायत कृषि उत्पादनमा बिचौलियाको हाबीलाई समाधान गर्नु, घरधनी घर र सटर भाषडामा नगएर समस्यामा रहेकाले यस्ता आर्थिक दुष्चक्र हटाउन संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने जनाएको छ । साथै संघप्रति घट्दै गएको व्यवसायीको मनोबल बढाउने, ऋण तिर्न नसकेर थला र कालो सूचीमा परेका व्यवसायीहरुको समस्याको निराकरण गर्ने, बैंक र सरकारलाई आवश्यक परे ऋण ब्याजमा छुट पाउने विषयमा सशक्त आवाज उठाउनका लागि आफूहरुको उम्मेदवारी रहेको सो समूहको भनाई छ ।

पोखरेल समूहले संघको प्रभावकारिता कम हुँदै गएको, व्यवसायीहरुको गुनासो सम्बोधन गर्न नसकेको, आर्थिक मन्दीको अवस्थामा पोखराका व्यवसायीहरुको धारणा, माग र सुझाव सरकार समक्ष प्रभावकारी रुपमा राख्न नसकेको, पोखराको समग्र विकासमा सरकारले ध्यान नदिँदा संघले जोडदार आवाज उठाउन नसकेको र उद्यमशिलताको विकास गरी युवालाई स्वरोजगार बनाउन उद्धत्त नभएकोमा आफूहरुको चासो र चिन्ता रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका आकांक्षी पोखरेलले यी सबै चिन्ता र चासोलाई सम्बोधन गर्ने उद्देश्यले आफूले अध्यक्षका लागि पुनः उम्मेदवारी दिन लागेको बताए । उनले भने,‘गत निर्वाचनमा खेप्नुपरेको पराजयले पाठ सिकाएको छ । यसपाली व्यवसायीहरुको पीरमर्कालाई कम गर्ने उद्देश्य सहित तपाईहरु समक्ष साथीहरु सहित आएको छु ।’

पोखरेलले आर्थिक संकट बेहोरेका व्यवसायीहरुलाई संकटबाट मुक्त गर्न, बढ्दै गएको कालोसूचीबाट हटाउन, सहजरुपमा पुनतार्लिका मिलाउन, सरकारी निर्णयहरुलाई परिमार्जन गर्न, संघको छवीलाई उठाउन, हरेक मञ्च र कार्यक्रमहरुमा व्यवसायीहरुको गुनासो र सुझावलाई व्यक्त गर्न, व्यवसायीलाई नयाँ परिवेशमा काम गर्ने वातावरण बनाउन, कसैबाट नहेपिने गरी आवाज उठाउन, तीनै तहका सरकारसँग समन्वय गरी काम गर्ने वातावरण मिलाउन र पोखरामा विकासका गतिविधि बढाउन, पोखरेली व्यवसायीहरुको मनोबल उच्च राख्न आफ्नो समूह प्रतिबद्ध रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।