दमौली । जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो ।
उक्त कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा चार हजार सात सय ८० जनामा खानेपानी सुविधा विस्तार गरेको इन्जिनियर विनु लोहनीले जानकारी दिए । सोही अवधिमा दुई हजार घरमा निजी धारा जडान गरिएको छ । हालसम्म जिल्लाका १५ हजार नौ सय ९४ घरमा निजी धारा जडान भएका छन् । उनले सशर्त, प्रादेशिक र विशेष खानेपानी योजनाबाट चार हजार सात सय ८० जना लाभान्वित भएका जानकारी दिए।
उक्त आर्थिक वर्षमा सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाका लागि रु दुई करोड ७५ लाख, प्रादेशिक खानेपानी आयोजनाका लागि रु २१ करोड ९१ लाख, विशेष अनुदान खानेपानी आयोजनाका लागि रु एक करोड ४० लाख र खानेपानी सेवा विस्तार तथा पुनःस्थापनाका लागि रु दुई करोड ६६ लाख ८० हजार बजेट विनियोजन भएको थियो ।
कार्यालयले कार्यान्वयन गर्ने योजना सङ्ख्याको तुलनामा जनशक्तिको अभाव हुँदा समस्या भइरहेको इन्जिनियर लोहनीले बताए । अठारजनाको दरबन्दी रहेकामा हाल १२ जना कार्यरत छन् ।
उक्तआर्थिक वर्षमा न्यून बजेटका कारण म्याग्दे–७ स्थित झाप्रेखोला कैडले खानेपानी योजना, भानु नगरपालिका–२ स्थित भकुन्थोक बेलटार खानेपानी योजना, बन्दीपुर गाउँपालिका–६ स्थित साराङघाट खानेपानी योजना, समादी खानेपानी योजना, व्यास नगरपालिका–११ स्थित केशरी खानेपानी आयोजना र बेल्टारी डिप बोरिङ खानेपानी योजना सञ्चालन गर्न नसकिएको इन्जिनियर लोहनीले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन २५ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा भएको अनियमितताको…






