मगर संस्कृतिमा आधारित ‘दिलसरा’ चलचित्रको पहिलो सो हाउसफुल

- चलचित्रलाई दर्शकको सकारात्मक प्रतिक्रिया


     एभरेस्ट आवाज    
     भाद्र ३ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ ३

मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को पहिलो प्रदर्शनी हाउसफुल भएको छ । मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको ‘दिलसरा’को सोमबार पोखरामा गरिएको पहिलो प्रदर्शनी हाउसफुल भएको हो । पोखरा सभागृह हलमा प्रदर्शन गरिएको चलचित्र हेर्न हल दर्शकको ओईरो लागेको थियो । करीब १ हजार ६ सय जना अट्ने हलमा दर्शक नअटाएपछि दुई सो गर्ने आयोजकले घोषणा गर्नुपरेको थियो । दोश्रो सो सोमबारै ३ः३० बजे प्रदर्शनी गरिएको छ ।

चलचित्र हेर्न मगर समुदायका अनुहार बाक्लो मात्रामा थियो भने अन्य समुदायकापनि प्रशस्त थिए । मगर भेषभुषामा सजिएर आएका दर्शकको उल्लेख्य उपस्थितिले चलचित्रकर्मी खुशीले गद्गद् भएका थिए । सोमबारको पहिलो सो मा चलचित्रका कलाकारले दर्शकसँगै बसेर चलचित्र हेरेका थिए ।

मगर समुदायमा आधारित चलचित्र ‘दिलसरा’ नारी प्रधान चलचित्र हो । यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसराले गरेको संघर्षलाई देखाइएको छ । विपन्न परिवारमा त्योपनि जँड्याहा बुबाले छोरी भनेको अर्काको घर जाने जात हो भन्दै गरेको विभेदबिरुद्ध दिलसराले मौन भाषामा गरेको विद्रोहलाई यथार्थपरक ढंगले देखाइएको छ । मगर समुदायमा हुने लाहुरे संस्कार र उसको माया पिरतीमा आईपर्ने पारिवारिक र सामाजिक अड्चन तथा मगर समुदायमा हाबी रहेको मामाको छोराले फूपूको छोरीलाई हक जताउने संस्कृति र त्यसले पार्ने पारिवारिक विखण्डनलाई चलचित्रमा प्रस्तुत गरिएको छ । मायामा परिवार बाधक बनेपछि घर छाडेर हिंडेकी दिलसराले सहर झरेर गरेको संघर्ष र पछि आफ्नै बलबुताले ग्रामिण विकास अधिकृत भएर गाउँमा फर्किदा पाएको माया र सम्मानले दिलसराको सफलता देखाइएको छ । अन्त्यमा चोखो मायाको जित हुन्छ भनेझैं फूपूकी छोरीले दिलसराको माया देखेर घर छाडेर हिंड्छिन् र त्यसपछि दिलसरा र लाहुरेको पुनः मिलन गराएर चलचित्र सकिन्छ ।

लाहुरे र दिलसराको मायामा दर्शकको अनुहारमा खुशी, दिलसराको संघर्षमा दर्शकको सहानुभूति अनि उसले पाएको सफलतामा गडगडाहट तालिले चलचित्र उत्कृष्ट बनेको पुष्टि गर्छ । चलचित्रमा खबपुको हाँस्य रसले दर्शक खित्का छाडेर हाँस्न बाध्य हुन्छन् ।

चलचित्रप्रति दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । ‘सानो लगानीमा मगर संस्कृतिमा आधारित चलचित्र यत्तिको उत्कृष्ट बन्नु ठूलो कुरा हो’(उनले भने ।

चलचित्र हेरेर फर्केका फोनिज गण्डकीका ईञ्चार्ज एमबी आस्था मगरले चलचित्र सन्देश मूलक रहेको बताए । यसले महिलालाई चुलोचौकोमा मात्र सिमित गर्नुपर्छ भन्नेहरुलाई गतिलो झापड दिएको छ,उनले भने,‘महिलाले जस्तोसुकै परिस्थितिमापनि संघर्ष गरेर सफलता हात पार्न सक्छ । अनि युवा पुस्तालाईपनि विदेश जाने होईन, स्वदेशमै सरकारी जागिर खाएरपनि बस्न सकिन्छ भन्ने सन्देश दिन चलचित्र सफल छ ।’

‘मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् । चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण रानाम मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।