झरीका पर्वाह नगरी पोखरामा निकालियो गाईजात्रा


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ ४

पोखरामापनि मंगलबार गाईजात्रा निकालिएको छ । नेवारी समुदायका एक वर्ष भित्र आफन्त वितेका परिवारले निकालिने गाईजात्रा यस वर्ष झरीका बाबजुद पोखरामापनि निकालिएको हो । पोखराका गाउँगाउँबाट गाईजात्रा निकालिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । तर यति नै संख्यामा गाईजात्रा निकालिएको भनेर भन्न नसकिने उनको भनाई छ । हरेक गाउँ÷टोलमा एक वा त्यो भन्दा बढी मान्छे वितेका घर भएकाले उनीहरुले गाईजात्रा निकालेको उनले बताए ।

गाईजात्राको अवसरमा ३३ स्थानबाट मंगलबार तायमचाः निकालिएको छ । नेवा खलः कास्कीको आह्वानमा शाखा (कचाः)खलःहरुले तायमचा निकालेका हुन् । मंगलबार पुरानो पोखरामा २४ र लेखनाथमा ९ वटा गरेर कुल ३३ स्थानबाट तायाःमचा निस्किएको नेवाः खल कास्कीका अध्यक्ष पालिखेले जानकारी दिए । उनका अनुसार पोखरामा मंगलबार हेमजा, लामौचार, बगर, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर, राष्ट्रवैंकचोक, पार्दी विरौटा, छोरेपाटन, पृथ्वीचोक, नयाँबजारबाट तायमचाः निकालिए । त्यस्तै, महेन्द्रपुल, तेर्सापट्टी, रानीपौवा, गौंडाकोमुख, कुँडहर र रामबजारबाट पनि तायमचाः निस्केको उनले बताए । त्यस्तै लेखनाथबाट सिसुवा, अर्घौं, गगनगौंडा, जनताको चौतारा, बागमारा, हंसपुर, देउरालीलगायतका स्थानबाट तायमचाः निकालिएको जनाइएको छ ।

तायाःमचा ३३ ठाउँबाट भएपनि गाईजात्रा भने धेरै ठाउँबाट निस्किएका छन् । एउटा टोलबाट धेरै गाई निस्किएपनि तायाःमचा एउटै हुने भएकाले गाईको संख्या धेरै भएको अध्यक्ष पालिखेको भनाई छ । उनले भने,‘एउटा टोलबाट एउटा तायाःमचा निकालिन्छ । तर एउटा टोलमा एक वा सो भन्दा बढी मान्छेको मृत्यू भएको भए गाईपनि धेरै नै निस्किन्छ । त्यस हिसाबले यकीन यतिनै संख्यामा गाई निस्कियो भनेर भन्न नसकेपनि धेरै संख्यामा गाई निस्किएको अनुमान गर्न सकिन्छ ।’ उनका अनुसार पोखरामा मंगलबार सबैभन्दा धेरै भीमसेन टोलमा ६ वटा गाई निस्किएको छ । त्यस्तै महेन्द्रपुललगायतका ठाउँहरुमापनि दुई भन्दा बढी गाई निस्किएका छन् ।

यसैबीच, गाईजात्राको अवसरमा नेवा खलः कास्कीको आह्वानमा तायमचाःनृत्य प्रतियोगिता यहि भदौ ८ गते शनिबार आयोजना हुँदैछ । नेवा कचाः खल नयाबजारको आयोजना तथा नेवा मिसा पुचः नयाबजार, नेवा ल्याम्ह पुचः नयाबजार र नेवाः कल्याणकारी गुठीको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको यस वर्षको श्रृंखलामा २९ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको बिजेतालाई ३ लाख १ रुपैयाँ, द्वितीय हुनेलाई २ लाख १ रुपैयाँ, तृतीय हुनेलाई १ लाख १ रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार १ रुपैयाँ प्रदान गरिने मूल संयोजक श्रेष्ठले बताए । त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए । पुरस्कारको सबै राशी पोखरा तेर्सापट्टी निवासी स्व.हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनका परिवारले उपलब्ध गराउने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।