पोखरामा “डेंगु खोज र नष्ट गर” अभियान शुरु, कालिका गणद्वारा संयोजन


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा डेंगु संक्रमण बढ्दै गएपछि डेंगु रोग संक्रमण, रोकथाम तथा नियन्त्रणकालागि सचेतना अभियान “डेंगु खोज र नष्ट गर” सुरु भएको छ ।
शुक्रबार नेपाल रेडक्रस सोसाइटी पोखरा–८ उपशाखाको व्यवस्थापन र सशस्त्र प्रहरी बल नेपाल कालिका गण, मालेपाटनको समन्वयमा उक्त अभियान सुरु भएको हो । टोलीले पोखरा वडा ५ र ८ मा दुवै वडाका संवेदनशील स्थानमा डेंगी खोज्ने र नष्ट गर्ने कार्य गरिएको कालिका गणका गणपति (एसपी) अरुणकुमार शर्माले बताए ।
बिहान ७ देखि १० बजेसम्म भएको डेंगु नष्ट अभियानमा पोखरा वडा ५ र ८ का वडाध्यक्षहरु, सशस्त्र प्रहरी, नागरिक समाज, मानवअधिकारकर्मी लगायत स्थानीयको सहभागिता थियो । वडा ८ मा ५० जना र वडा ५ मा ७० जना गरी कुल १ सय २० जना सशस्त्र प्रहरी परिचालित भएको कालिका गणका गणपति एसपी शर्माले बताए ।
स्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीका कास्कीमा कुल ९ सय ७९ जनामा डेंगु संक्रमण देखिएको छ । तीमध्ये २ जनाको मृत्युसमेत भइसकेको छ ।
पोखरामा विभिन्न ३३ वटा वडामध्ये सबैभन्दा धेरै संक्रमित भएको वडामा क्रमशः वडा ८, वडा ५, वडा ७ र वडा १७ हुन् । वडा ८ मा १ सय ५७ जना, वडा ५ मा ८६ जना र वडा ७ मा ३७ जना र वडा १७ मा ३५ जना संक्रमित भएको पाइएको छ ।
महानगरका ‘कोर एरिया’ रुपमा रहेका वडा ८ र ५ मा वर्कशप, ग्यारेज, कवाडी डिपो र जनसंख्या समेत धेरै भएको कारणले अन्य वडा तुलनामा डेंगु बढी फैलिएको सम्बन्धित वडाध्यक्षहरु बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।