जनार्दनको फरक दस्तावेज होईन, फरक मत हो : प्रचण्ड


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ ९

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माको प्रस्ताव फरक दस्तावेज नभएको बताएका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश स्तरीय परामर्श बैठकलाई आईतबार पोखरामा सम्बोधन गर्दै उनले शर्माको फरक दस्तावेज नभई फरक मतमात्र भएको बताएको केन्द्रीय सदस्यले जानकारी दिए । प्रचण्डलाई उद्धृत गर्दै उनले भने,‘शर्माको प्रस्ताव फरक दस्तावेज होईन, उहाँको यो फरक मत हो ।’ प्रचण्डले शर्माको प्रस्तावकै कारण पार्टी विभाजन नहुने दाबी गरेका थिए । पार्टीमा बहस र छलफल हुनु स्वाभाविक भएको बताउँदै उनले भने,‘पार्टी यहि कारण फुट्दैन, झन् एकढिक्का हुन्छ । बरु पहिले फुटेर गएकाहरुपनि एकतामा आउँछन् ।’

प्रचण्डले शर्माको प्रस्तावसमेत समेटेर प्रतिवेदनलाई पूर्णता दिने बताएका छन् । उनले फरक मतसहितलाई लिएर तल्ला कमिटीबाट आएका सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिने बताए । उनले २०८४ सालको चुनावमा पहिलो पार्टी बनाउनुपर्ने भन्दै उनले भनेका छन्,‘पार्टी बनाउनै पर्छ । अबको चुनावमा सिंगल सिंगल लडेर जित्ने पार्टी बन्नुपर्छ । त्यसका लागि तपाई हामी सबै रुपान्तरण, एकताबद्ध हुनुपर्छ । त्यसो भयो भने सम्भव छ ।’

बैठकको शुरुमै बोलेका प्रचण्डले करीब ४५ मिनेट बोलेका थिए । त्यसपछि प्रदेशका केन्द्रीय सदस्यहरुले धारणा राख्दै यस बेला नेतृत्वबिरुद्ध धावा बोलेको भन्दै शर्माप्रति आक्रोस पोखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । नेतृत्वमा कमीकमजोरी रहेपनि प्रचण्डको विकल्प नभएको बताएको ती केन्द्रीय सदस्यको दाबी छ । वक्ताहरुलाई उद्धृत गर्दै ती सदस्यले भने,‘नेतृत्व भनेको प्रचण्डमात्रै होईन, पार्टी बिग्रिनुमा तपाईंहरुकोपनि उत्तिकै हात छ । प्रचण्डलाई मात्रै दोष दिएर तपाईंहरु उम्किन मिल्दैन ।’ एक केन्द्रीय सदस्यले त पार्टीका केन्द्रीय पदाधिकारीहरुको वर्ग उत्थान भएको बताउँदै त्यसको छानविन हुनुपर्नेमासमेत जोड दिएका थिए । ती सदस्यले भने,‘तपाईंहरु कतिपटक सत्तामा पुग्नुभयो ? तपाईंहरुको कति वर्ग उत्थान भयो ? त्यसको लेखाजोखा हुनुपर्दैन ? अनि प्रचण्डलाई दोष दिएर तपाईंहरु उम्किन मिल्छ ? ।’

प्रचण्ड निकट केन्द्रीय सदस्यहरुले उपमहासचिव जनार्दन शर्माले पार्टी भित्रको आन्तरिक किचलो बाहिर सार्वजनिक गरेर गम्भीर गल्ती गरेकोसमेत आरोपसमेत लगाए । उनले भनेका थिए,‘तपाईंले आफ्नो मत पार्टी भित्र राख्नुभयो त्यो ठीक छ तर बाहिर किन लैजानुभयो ? यसले तपाईंकै कद घटायो ।’

केन्द्रीय सदस्यहरुले पार्टीमा शुद्धिकरण जरुरी रहेकोमा जोड दिएको अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए । शर्मा निकट केन्द्रीय सदस्यहरुले नेतृत्वको उत्तराधिकारी तयार गरेर राख्नुपर्ने कुराहरु जायज भएको बताएका थिए । उनीहरुले बोलेका कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘नेतृत्वको उत्तराधिकारी तयार गरेर राख्नुपर्छ । त्यसका लागि आवाज उठाउँदा पार्टी फुटाउन लाग्यो भनेर भन्नु उचित होईन ।’

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश स्तरीय परामर्श बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डसहित बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष द्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा, गिरीराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, सचिवहरु दीननाथ शर्मा, हितराज पाण्डे, प्रशान्त, स्थायी कमिटी सदस्य अम्रिता थापा मगर उपस्थित छन् । बैठकमा गण्डकी प्रदेशका ६५ जना केन्द्रीय सदस्य तथा प्रदेशका ९ जना पदाधिकारी गरेर ७४ जना भएपनि आईतबार ६० जना मात्रै सहभागी भए । आईतबार ३९ जना केन्द्रीय सदस्यले बोलेको र बाँकीले सोमबार बोलेपछि अध्यक्ष प्रचण्ड तथा पदाधिकारीले जवाफ दिएर बैठक सकिने नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।