पोखरा । निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्कृतिक र धार्मिक संहिष्णुताले भरिपुर्ण सामाजिक विविधता । मानिसहरु कृषि र विभिन्न पेशामा मन्त्रमुग्ध छन् । समय परिवेशअनुसार यहाँका स्थानियका दैनिकी र विकासका गतिविधिहरुले पनि स्वरुप परिवर्तन गर्ने क्रम जारी छ ।
सिंगो निसीखोलाका समस्या,चुनौति र सम्भावनाहरुलाई शुक्ष्म ढंगले केलाएर स्थानिय सरकारले विभिन्न योजनाहरु अगाडी बढाउने प्रयास गरिरहेको छ ,प्रस्तुत छ यसै विषयमा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरसंग गरिएको कुराकानीः
१. निसीखोला गाँउपालिकालाई कार्यक्षेत्रका लागि किन रोज्नुभयो ?
नेपाल सरकारको शाखा अधिकृत भएर दुरदराजमा सेवा गर्ने मेरो सपना थियो । फलस्वरूप यस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर सेवा गर्ने मौका जुर्याे,यसलाई मैले सौभाग्य ठानेको छु । यहाँको कार्यकाले मेरो आगामी यात्राको लागी पनि सकरात्मक खाका कोरिने छ भन्नेमा विश्वास छ । त्यही अनुसार केही नयाँ रचनात्मक योजनाहरु प्रतिपादन गर्न मेहनत गर्ने कोसिसमा छु ।
२ .तपाईका लागि यो नयाँ कार्य क्षेत्र कस्तो महसुस भैरहेको छ ?
आफ्नै परिवेश जस्तै लगेको छ । धेरै इमान्दार र सहयोगी भावना भएका समुदायको जमात छ यहाँ । सुरुका दिनमा केही निरास भए पनि अहिले सबै जनप्रतिनिधि,कर्मचारी र सेवाग्राहीसंग आत्मियता जोडिएको छ । विस्तारै काम गर्ने वातवरण तय गर्दै अगाडी बढ्दै छु ।
३ .आर्थिक वर्ष २०८१÷८२ मा कस्तो विकासका खाका कोर्दै हुनुहुन्छ ?
यहाँको जनताको उन्नति, प्रगति मात्रै नभई समग्र निसीखोलाको सकारात्मक सुधार तथा गुणात्मक परिवर्तन ल्याउन विकासको बहुआयमिक पक्षलाई समेट्ने प्रयास गरेको छु । पूर्वाधार विकासमा मात्र सिमित नभई, विकासका पक्षहरू (कृषि, पर्यटन, लघुउद्यम, राजेगारी सृजना, मानव संशाधन) जस्ता पक्षमा जोड दिई समावेशीकरण, सामाजिक न्याय कायम गर्दै आम जनमानसमा जनचेतना विस्तार गर्ने खालका कार्यक्रमहरु ल्याउने योजना बनाएको छु । कुनै पनि स्थानको विकास र परिवर्तन शिक्षा र जनचेतनाबाट सुरुवात गर्न आवश्यक छ,त्यही अनुरुप भिजन बनाएको छु ।
४. हरेक वर्ष विनियोजित बजेटले निसीखोला जस्ता दुर्गम क्षेत्रको विकासका लागि स्थानिय सरकारलाई कति पर्याप्त हुन्छ ?
विनियोजित वजेट पर्याप्त नै हुदैन् , बजेट अभावकै कारण कतिपय स्थानिय सरकारको नजरमा परेका तर बजेट अपुग भएका दिगो विकासहरु जस्तै दिगो पर्यटन विकास,दिगो खेलकुद विकास,दिगो रोगजारीका योजनाहरु केन्द्र सरकारकै मुख ताकेर बस्नुपर्ने बाध्यताहरु छन्, कतिपय विकासका योजना खाका कोरेर मात्रै अधुरै रहन्छन् । तर कुनै पनि क्षेत्रकोे विकासका लागि स्थानिय स्रोतको महत्वपुर्ण भुमिका रहन्छ । तर यहाँका स्रोतसाधनबाट आम्दानी कसरी गर्न सकिन्छ त भन्ने कुरामा अभ्यास जारी छ ।
५ .स्थानिय सरकारको आम्दानीको स्रोत केके छन, र यसलाई थप गर्न स्थानिय सरकारको कस्तो रणनीति छ ?
निसीखोलाको आन्तरिक आम्दनी निकै न्यून छ । यस वर्ष पनि जम्मा ४८ लाख राजश्व
संकलन भयो । निसीखोलाको आन्तरिक श्रोतको डायरा बढाउने क्षेत्रहरु जस्तै:– नदीजन्य उत्पादन, पर्यटकीय क्षेत्रको विस्तार, कृषिमा आधुनिकीकरण, पशुपालन, सिप विकास, आन्तरिक उत्पादनको बजारीकिरण जस्ता क्षेत्रमा सुधार गर्नु अत्यावश्यक छ । यस्ता आन्तरिक श्रोत बढाउने प्रमुख पक्षहहरुलाई गम्भिरताका साथ लिएको छु ।
६ . निसीखोला आफैमा पर्याप्त चरिचरण र कृषियोग्य भुगोल हो,यस विषयमा स्थानिय सरकारको योजनाहरु केके छन् ?
अवश्य पनि,निसीखोला पर्याप्त चरिचरण तथा कृषि योग्य भूगोल होे । यसका लागि चरिचरणलाई व्यवस्थित गरि यहाँका परम्परागत पशु पालन र कृषि पेशालाई आधुनिकीकरण गरि व्यवसायमा रुपान्तरण गर्ने म लगाएत यहाँका जनप्रतिनिधिहरुले योजना बनाएका छौ । कृषि योग्य जमिनलाई मोहरमा रुपान्तरण गर्न व्यवस्थित बसोबास,माटोको पहिचान , उत्पादन हुने बहुबालीको पहिचान,कृषिमा जलवायु परिवर्तनले पारेको असरलाई न्युनिकरण गर्न बेमौसमी बालीको खोजी गरिरहेका छौ । मलाई लाग्छ निसीखोलाका जनताको खुसि यसमा भेट्न सकिन्छ ।
७ . यहाँ कृषि तथा पशु विज्ञान जस्ता प्राविधिक धारका शिक्षालय सञ्चालनको आवश्यकता कति छ ?
यो क्षेत्रकोे आम्दानीको मुख्य सम्भावना नै पशु तथा कृषि भएको हुँदा यो स्थानमा यससंग सम्बन्धित प्राविधिक शिक्षा अनिवार्य छ । यस विषयमा विषयविज्ञका रुपमा यहाँका जनताका हरेक सन्ताती नै उत्पादन हुनुपर्छ । त्यसकारण यो ठाँउकै विद्यालयमा यहाँकै विज्ञ उत्पादन भयो भने यहाँको लागि थप कोसेढुङ्गा सावित हुने छ ।
८ . निसीखोला विभिन्न जातजाति,समुदायहरु आफ्नै मौलिकतामा रमाईरहेका छन्,यीनका मौलिकता र सामाजिक सहिष्णुता थप कायम गर्न के गर्न पर्ला ?
विभिन्न जातजाती, धर्म, भाषा, सस्कृति, रहनसहनको धनि छ निसीखोला । बहुआयामिक सांस्कृतिक विविधतालाई आत्मसात गर्नेदेखि लिएर यहाँको मगर खामलाई स्थानीय पाठ्यक्रमका रुप व्यवस्थित गरिसकोका छौ । समुदायका विभिन्न चाडपर्वलाई हर्षउल्लासमय बनाउन बजेट नै विनियोजन गरेका छौ । एकअर्कामा समुदाय प्रतिको सह–अस्तित्वलाई स्विकार गरि स–सम्मान पुर्वक समाजमा बस्नका लागि जनचेतना फैलाउने कार्यक्रमहरु गर्नेछौ ।
९. यति धेरै आकर्षक भावियोजनाहरु गरिरहदा यसलाई सफल बनाउन कर्मचारी र जनप्रतिनिधीको समन्ध कस्तो हुनुपर्दछ ?
हो यो निकै महत्वपुर्ण कुरा हो । ४पि र १बि (पोलिसी,प्लान,प्रोग्राम,प्रोजेक्ट र बजेट)को सन्दर्भमा स्थानिय तहहरुमा कर्मचारी र जनप्रतिनिधिविच धेरै नै टकराव चल्ने गर्दछ । जसका कारण जनपक्षिय विकासका योजनाहरुमा अवरोध सृजना हुन्छ । सन्तुलित विकासका योजनाहरु असन्तुलन हुन जान्छन् । पोलिसी,प्लान,प्रोग्राम,प्रोजेक्ट र बजेट निर्माण गर्ने,कानुन निर्माण गर्ने लगाएतमा जनप्रतिनीधि कर्मचारीको अभिभावकीय भुमिकामा रहन्छ भने त्यसको कार्यान्वयन गर्नेमा कर्मचारीको भुमिका रहन्छ ,त्यसैले दुवै संयन्त्रको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्दछ । र दुवै पक्षको साझा उद्धेश्य भनेको सन्तुलित विकास गर्ने,दुवै पक्षले ज्वलन्त विषयहरु समाधान गर्न,सामाजिक न्याय कायम गर्ने भएको हुदा यी साझा उद्धेश्यलाई ह्दयगन गरि अगाडी बढ्नु पर्दछ । दलिय र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर साझा उद्धेश्यहरु सफल पार्न राजनीतिक र प्रसासनिक दुवै पक्षले ध्यान दिन जरुरी छ । यसरी अगाडी दुवै पक्षले साझा सहकार्य ग¥यो भने नै दुवै पक्षको कार्यकाल सफल हुने हो ।
१०. निसीखोलाको सन्दर्भमा कर्मचारी र जनप्रतिनिधीको सम्बन्ध कस्तो छ ?
निसीखोला गाउँपालिकामा राजनैतिक दवाव कम छ । यहाँका जनप्रतिनिधीहरुलाई ४ पि र १ विको सिद्धान्त सहज रुपमा बुझाउन सकिन्छ । औचित्यको आधारमा विज्ञता प्रस्तुत गर्दा सहजै स्विकार गर्नुहुन्छ । यस विषयमा अलिकति कन्फ्युज र छलफल त भै हाल्छ नी तर हेड अफ ब्युरोक्राफ्टको निर्देशन सुन्ने बानी छ ।
९ . यो गाउँपालिकाको चुनौति केके छन् ?
यहाँको जातीय भाषा, धार्मिक सहिष्णुता, साँस्कृतिक चालचलन,भेषभुषा लगाएत पक्ष विस्तारै लोप हुने हो कि भन्ने खतरा छ । पालिकाले बर्षेनी सांस्कृतिक विविधताको जगेर्ना गर्न आवश्यक पहल गर्दै आउन चुनौति छ । जनताका बढ्दो महत्वकांक्षाका कारण यस गाउँपालिकाको पुराना पहिचान जस्तै ढुंगे घर,पाटीपौवा लगाएतका सम्पदाहरु नाँसिदै गएका छन् ।
अन्त्यमाः निसीखोला गाउँपालिका मेरो सार्वजनिक निकायको उच्च ओहदामा पुग्ने पहिलो खुडकिलो हो । यस क्षेत्रका आम जनताको सेवा मेरो पहिलो प्रथामिकता हो । यहाँको विकासमा यस पालिकाका जनता र जनप्रतिनिधिले साथ दिनुहुनेछ भन्ने आशा लिएको छु ।मवाट भुलबस बाहेक कुनै पनि सेवामा ढिला सुस्ती हुने छैन भन्ने प्रतिवद्धता जाहेर गर्दछु,धन्दवाद ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन…






