भदौ १० पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुले सरकार नखोज्ने बताएका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश स्तरीय परामर्श बैठकको समापन कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले माओवादीको प्राथमिकता नभएपनि सरकारले नै माओवादी खोज्दै आउने परिस्थिति बन्न सक्ने बताएका हुन् । केहि दिन अघिमात्र २०८४ सालअघि सरकारमा नजाने घोषणा गरेका उनी पछिल्लो क्रममा यूटर्नहुँदै सरकारमा जान सकिने बताउँदै आएका छन् । सोमबारपनि त्यहि बोलीलाई निरन्तरता दिने क्रममा उनले भने,‘हामी सरकारको जोड घटाउमा लाग्दैनौं । अहिले हाम्रो प्राथमिकता सरकार होईन । तर सरकारले हामीलाई खोज्दै आउने परिस्थिति बन्न सक्छ ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारले परिवर्तनको रक्षा गर्न नसक्ने बताए । वर्तमान गठबन्धन परिवर्तनबाट प्राप्त उपलब्धी उल्टाउन र भ्रष्टाचार छोप्न बनेको आरोप लगाउँदै उनले भने,‘हाम्रो सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ र कारवाही गर्न थालेपछि उनीहरु आत्तिएर नया गठबन्धन बनाउनु पुगेका हुन् । यिनीहरुबाट जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, संघीयता र समावेशी, समानुपातिक प्रणालीलगायतका उपलव्धीको रक्षा हुन सक्दैन ।’ उनले कुनैपनि बेला उपलब्धी उल्टाउने प्रयास हुने भन्दै सचेत रहन आग्रह गरे । ‘आवश्यक परे संघर्षमा उत्रिएरपनि उपलब्धी जोगाउनुपर्छ’–उनले भने । उनले अहिलेपनि माओवादी देशको महत्वपूर्ण शक्ति रहेको र माओवादीलाई बाईपास गरेर जान सक्ने स्थिति नरहेको दाबीसमेत गरे ।
अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको वस्तुगत आधार तयार भएको बताए । समाजवादी क्रान्तिका लागि तयारीमा जुट्न आग्रह गर्दै उनले भने,‘तपाईंहरु समाजवादी क्रान्तिको तयारीमा जुट्नुस् । यसका लागि वस्तुगत आधार तयार भएको छ । तर यो कार्यभार पूरा गर्नका लागि पार्टी भित्र एकता आवश्यक छ ।’ उनले जनतामा गएर माओवादी नेतृत्वको सरकारले गरेका सुशासन र विकासका लागि गरेको कामको प्रचार गर्दै संगठन निर्माण गर्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहईञ्चार्ज हरिराज अधिकारीले जानकारी दिए ।
परामर्श बैठकमा बोल्दै पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले नेतृत्वमा केन्द्रीकृत हुनुुको विकल्प नभएको बताए । उनले भने,‘हामी समाजवादी क्रान्तिका लागि लड्ने हो भने वर्तमान नेतृत्वमै केन्द्रीकृत हुनुपर्छ । यसको विकल्प छैन ।’
महासचिव देव गुरुङले पार्टीमा बहुुकेन्द्र बनाउँदा झन् समस्या बढ्ने बताए । भारत र चीनजस्ता ठूूला देशको बिचमा रहेको नेपाल अन्र्तराष्ट्रिय युद्धको ईपिसेन्टर बन्ने खतरा रहेको अवस्था तथा समाजवादी क्रान्तिका लागि बहुुकेन्द्र चुनौतिपूर्ण हुने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । महासचिव गुरुङलाई उद्धृत गर्दै उनले भने,‘नेतृत्वमा केन्द्रीकृत हुनु नै सर्वोत्तम हुन्छ ।’
उपमहाचिव वर्षमान पुनलेपनि समाजवादी क्रान्ति पूरा गर्नका लागि प्रचण्ड बाहेकको विकल्प नभएको बताएका ती केन्द्रीय सदस्यले बताए । उनका अनुसार पुनले स्थायी कमिटी बैठकमा जनार्दनले राखेको प्रस्ताव राख्नु ठीक भएपनि बाहिर प्रचारबाजी गरेर कद घटाएको भन्ने केन्द्रीय सदस्यहरुको भनाईमा आफूहरु सहमत रहेको बताएका थिए ।
तर उपमहासचिव जनार्दन शर्माले भने आफूलाई नेतृत्वले नै पार्टी फुटाउन लाग्यो, एमालेमा जान लाग्यो भन्नेजस्ता प्रचारबाजी गरेपछि आफूले प्रतिवाद गरेको बताएको ती सदस्यले जानकारी दिए । उहाँले प्रचण्डको विकल्प खोजेको होईन भन्नुभयो,शर्मालाई उद्धृत गर्दै उनले भने,‘प्रचण्डलाई बैचारिक र सरकारको नेतृत्व दिऔं । संगठनको नेतृत्वमात्र अरुलाई दिऔं भनेको हुँ ।’
दुई दिनसम्म बसेको बैठकमा माओवादीका गण्डकी प्रदेशका ६५ जना केन्द्रीय सदस्य र ९ जना पदाधिकारीले बोल्दै प्रचण्डको विकल्प खोज्ने बेला नभएको बताएका थिए । उनीहरुले बरु सरकारमा नगई पार्टीलाई एकताबद्ध बनाएर लैजान नेतृत्वलाई दवाब दिएका थिए । उपमहासचिव जनार्दन शर्मा पक्षधरले भने नेतृत्वको उत्तराधिकारी खोज्नु अन्यथा नहुने भन्दै शर्माको बचाउ गरेका ती केन्द्रीय सदस्यले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।