पोखरा । बरिष्ठ मानव अधिकारकर्मी तथा वामपन्थी नेता टेकनाथ बरालको प्रथम स्मृति समारोह बुधबार आयोजना भएको छ । बरिष्ठ मानवअधिकारकर्मी बरालको ८४ वर्षको उमेरमा गत वर्ष भदौ १२ गते निधन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बामपन्थी नेता तथा परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले बराल राष्ट्रियताको रक्षा र सीमा सुरक्षाको सवालमा सक्रियतापूर्वक लागेको जानकारी दिए । उनले के राष्ट्रिय बिभूति काठमाण्डौ भित्रबाट मात्रै हुन पर्ने हो ? भनि प्रश्न गर्दै टेकनाथ बराल त्यसकालागि उपयुक्त पात्र रहेको दाबी गरे । बराल आफ्नो जीवनको ५ दशकभन्दा बढी समय मानवअधिकार र सामाजिक न्यायका लागि समर्पित थिए । बरालका छोरा विद्याविमल बरालले अधिकारकर्मी बरालले राजनीति, मानव अधिकार र शिक्षा क्षेत्रमा गरेको योगदानको अध्ययन गर्न टेकनाथ स्मृति अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरे ।
‘मानव अधिकार, सामाजिक न्याय, असमानता विरुद्धको आन्दोलनलाई सशक्त बनाउने अध्ययन केन्द्रलाई विस्तृत र फराकिलो बनाइने छ,’ उनले भने, ‘राष्ट्रिय स्तरमा योगदान पुर्याएका व्यक्तिलाई टेकनाथ स्मृति दिवसका दिन हरेक वर्ष ‘टेकनाथ स्मृति राष्ट्रिय सम्मान’ प्रदान गरिनेछ ।’ उनले यसका लागि परिवारले ६ लाखको अक्षय कोष स्थापना गरेको जानकारी दिए । बरालले भौतिकवादी विश्व दृष्टिकोण लगायतका बिबिध विषयमा केन्द्रले विचार गोष्ठी गर्ने बताए ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले टेकनाथ मन, वचन र कर्ममा एकरुपता भएको व्यक्ति भएको टिप्पणी गरे । उनले पुष्पलालले नेपाली कांग्रेससँग कार्यगत एकताको प्रस्ताव गर्दा टेकनाथले कम्युनिस्ट एकतालाई माइनस गर्न नहुने अडान राखेको जानकारी दिए ।
उनले २०४६ सालमा नेता बरालले काठमाडौमा भन्दा पहिला पोखरामा बाममोर्चा गठन गरेको सुनाए । गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले सादा जीवन उच्च विचार राख्ने व्यक्तित्व बरालले बामपन्थीहरु बीचको एकता विना मुलुकको रुपान्तरण सम्भव नभएको बताएको स्मरण गरे ।
बरालले बामपन्थीहरु गरिब किसान र श्रमजिवीका मुद्दामा ध्यान नदिई राज्यसत्ता र राजकीय सुखसयलमा ध्यान दिएकोमा चिन्ता जाहेर गरेको स्मरण गर्दै उनले बराल सधै राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालमा चिन्तित रहेको बताए । बामबुद्धिजीवी रामराज रेग्मीले नेता बरालले छिरलिएको र लथालिंग भएको कम्युनिस्ट पार्टीलाई संगठित गरी जीवन र गति दिएको जानकारी दिए ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विना सिलवालले छोराछोरीलाई समान अंश दिएर बरालले महिलाको अंश र वंशको अधिकार सुनिश्चित गरेको बताइन् । सञ्जालका पूर्व संयोजक विष्णुप्रसाद बरालले संविधान सभाको चुनाव गराएर सशस्त्र द्वन्द्वको अन्त्य गर्नुपर्ने पक्षमा बराल भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा ९एमाले० केन्द्रीय सल्लाहकार सोमनाथ अधिकारी “प्यासी”, नेकपा ९माओवादी केन्द्र० का नेता झलकपाणि तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष नागरिक अगुवा आनन्दराज मुल्मी, प्राध्यापक रघुनाथ अधिकारी, मोहन केसी, प्राकृतिक चिकित्सक डा डिलाराम लामिछाने, टेकनाथ बरालका छोरी प्रभा बराल पौडेल, पत्रकार दीपेन्द्र श्रेष्ठ लगायतले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा टेकनाथ बरालको योगदानबारे चर्चा गरे ।
नेपाल सरकार र तत्कालीन नेकपा माओवादीलाई वार्तामा ल्याएर शान्ति प्रक्रिया स्थापनाका लागि खोलिएको शान्तिका लागि नागरिक समाज सञ्जाल पोखराका संस्थापक सदस्य बराल महिला हिंसा, दाइजो प्रथा, सामाजिक अन्याय, असमानता लगायतका विभिन्न सामाजिक समस्याका विरुद्ध कट्टर अभियानकर्ता थिए । सशस्त्र द्वन्द्वकालमा बरालले द्वन्द्वबाट प्रभावित जनताको अधिकार सुनिश्चित गर्न निर्णायक भूमिका निर्वाह गर्नुका साथै मानवअधिकार उल्लंघनका घटनाको अनुगमनमा सक्रिय रूपमा संलग्न थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







