भदौ १३ कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा अहिलेसम्मकै रेकर्ड कायम गरेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको संयोजनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि सुरु भएको ‘कर्णालीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुसँगको परामर्श बैठक’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सङ्ख्याले सानो भए पनि यसको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन अभियानमा रेकर्ड कायम गरेको जिकिर गरे । यति ठूलो अभियान चलाएको देखेर विरोधी शक्तिहरुमा छटपटी पैदा भएको उनले बताए ।
“यसबाट नेपाली जनतामा आशा र उत्साह पैदा हुँदै गर्दा दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषमा भने आतङ्क सिर्जना भयो”, उनले भने, “त्यसपछि नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ भए लगत्तै कांग्रेस र एमालेको एकथरी नेतृत्व छटपटिन थाल्यो । त्यसकै परिणाम स्वरुप दुई ठूला राजनीतिक शक्तिबीचको रातारात सहमतिबाट सरकार निर्माण भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले माओवादी सरकारबाट बाहिरिँदा जितेजस्तो र कांग्रेस–एमालेले हारेर नेतृत्व लिएजस्तो बनेको टिप्पणी गर्दै भने, “यो पार्टी र आन्दोलनका लागि ठूलो पूँजी हो । अब भने उनीहरू हामीलाई कमजोर बनाउने नाममा बलिदानपूर्ण सङ्घर्षमार्फत स्थापित गरेका एजेण्डासहितको संविधानमाथि प्रहार गर्न चाहन्छन् । हामीले अगाडि बढाएको भ्रष्टाचार विरुद्धको अभियानलाई निस्तेज कोसिस गर्दैछन् । ती सबै षड्यन्त्रका विरुद्ध जनतालाई सचेत बनाउन सुसङ्गठित पार्टी निर्माण गरेर अगाडि बढौँ ।”
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिक क्षेत्रमा मिटरब्याजीको समस्या समाधान, हजारौँ नागरिकताविहीनलाई नागरिकता पाउने व्यवस्था मिलाउनुको साथै देशबाहिर तथा भित्र रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी नयाँ आशाको जगाएको पनि उहाँले जनाए । माओवादी नेतृत्वको सरकार हुँदा अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गरे पनि अर्थतन्त्र पुनरुत्थानमा लिइएका नीतिगत पहलबाट अर्थतन्त्रमा देखिएका सङ्कट क्रमशः समाधान हुँदै अर्थतन्त्रले पुरानै लय समात्न थालेको उनको भनाइ थियो ।
परामर्श बैठकमा उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवत्रय जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, नेता गिरिराजमणि पोखरेल, स्थायी कमिटी सदस्य टेकबहादुर बस्नेत, सत्य पहाडी, कालीबहादुर मल्ल, केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, नरेश भण्डारी लगायतको सहभागिता रहेको छ । बैठक शनिबारसम्म चल्नेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






