भदौ १५ पोखरा । गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो ।
पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन् । द्वितीय हुने म्याग्दीको प्रगति सफल कृषक समूहले २० हजार र तृतीय हुने तनहुँको बेदकालिका कृषक समूहले १० हजारसहित प्रमाण प्राप्त गरे ।
प्रतियोगितामा लमजुङको मेन्दो कृषक समूह राईनास नगरपालिका वडा नम्बर–३ र पर्वतको विहादी आईपिएम कृषक समूह विहादी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरे । सान्त्वना स्थान प्राप्त गर्ने दुबै समूहले ५/५ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
बिजेताहरुलाई नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिम्सिना, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, समाचार प्रमुख तथा कार्यक्रम संयोजक घनश्याम पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।
जिल्ला जिल्लाबाट छनौट गरेर ग्राण्ड फिनालेका लागि कृषक समूहहरुलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रको समन्वयमा पोखरा बोलाइएको थियो ।
प्रतियोगिताको ग्राण्ड फिनालेको शनिबार गण्डकी प्रदेको सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भोलि शनिबार आयोजना हुन लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित भएको छ…







