गण्डकीका मन्त्री मनाङेले दिए राजिनामा


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा, भदौ १७

गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले राजिनामा दिएका छन् । मन्त्री मनाङेले मन्त्री परिषद पुर्नगठनप्रति असन्तुष्टी जनाउँदै राजिनामा दिएका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसोमात्र मन्त्री परिषद पुर्नगठन गरेका थिए । उनले सत्ता साझेदार एमालेलाई ४ मन्त्रालय दिएर सरकारमा सहभागि गराएका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्री मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय एमालेलाई दिएपछि उनी असन्तुष्ट बनेका थिए ।

एमाले मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा मन्त्रीहरुको कार्यविभाजन घोषणा भएलगत्तै सोहि कार्यक्रममा सहभागी मन्त्री मनाङेले असन्तुष्टी जनाएका थिए । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय खोसेर वन तथा वातावरण मन्त्रालयमा सिमित गरेको थाहा पाएलगत्तै उनले पत्रकारहरुसमक्ष भनेका थिए,‘यस्तो मन्त्रालय जुनियरहरुलाई दिने हो । म अब राजिनामा दिन्छु ।’ त्यति भनेर सपथग्रहण स्थलबाट रिसाएर निस्केका उनले लगत्तै राजिनामा दिएको मन्त्री मनाङेका राजनीतिक सल्लाहकार शैलेन्द्र रावतले जानकारी दिए । उनका अनुसार मन्त्री मनाङेको राजिनामा पत्र मुख्यमन्त्रीलाई बुझाउन भने बाँकी छ । मन्त्रीका स्वकीय सचिव सन्तोष अधिकारीले राजिनामा पत्र मुख्यमन्त्रीलाई बुझाउन खोज्दा मुख्यमन्त्रीले समय नदिएको उनको भनाई छ । सचिवालयमा दर्ता गराउन खोज्दा मुख्यमन्त्रीलाई बुझाउनु भन्नु भएछ,उनले भने,‘मुख्यमन्त्रीसँग भेट हुन सकेको छैन । भेट हुने वित्तिकै राजिनामा पत्र बुझाउनेछौं ।’

मन्त्री मनाङेले भने आफूलाई अल्छी लागेकाले राजिनामा दिएको बताएका छन् । अब सरकार जान्न,उनले भने,‘कति खाने मन्त्री, अब रेष्ट गर्छु ।’ उनले आफूलाई दिएको मन्त्रालयमा बजेट नै नहुने भएकाले मन्त्री हुनुको अर्थ नभएकोसमेत बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।