मन्त्री मनाङेको राजिनामा स्वीकृत होला ?


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ १७

गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले राजिनामा दिएका छन् । मन्त्री मनाङेले मन्त्री परिषद पुर्नगठनप्रति असन्तुष्टी जनाउँदै राजिनामा दिएका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसो मन्त्री परिषद पुर्नगठन गरेका थिए । उनले सत्ता साझेदार एमालेलाई ४ मन्त्रालय दिएर सरकारमा सहभागि गराएका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्री मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय एमालेलाई दिएपछि उनी असन्तुष्ट बनेका थिए ।

एमाले मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा मन्त्रीहरुको कार्यविभाजन घोषणा भएलगत्तै सोहि कार्यक्रममा सहभागी मन्त्री मनाङेले असन्तुष्टी जनाएका थिए । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय खोसेर वन तथा वातावरण मन्त्रालयमा सिमित गरेको थाहा पाएलगत्तै उनले पत्रकारहरुसमक्ष भनेका थिए,‘यस्तो मन्त्रालय जुनियरहरुलाई दिने हो । म अब राजिनामा दिन्छु ।’ त्यति भनेर सपथग्रहण स्थलबाट रिसाएर निस्केका उनले लगत्तै राजिनामा दिएको मन्त्री मनाङेका राजनीतिक सल्लाहकार शैलेन्द्र रावतले जानकारी दिए ।

राजिनामा पत्र मन्त्री मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले मुख्यमन्त्रीलाई बुझाएका थिए । शुरुमा त मुख्यमन्त्री पाण्डेले राजिनामा पत्र बुझ्न आनाकानी गरेका थिए । तर धर्ना दिएर मन्त्रीका स्वकीय सचिव अधिकारी बसेपछि साँझमा मात्रै पत्र बुझेका थिए । मन्त्रीका राजनीतिक सल्लाहकार रावतले ढिला गरेर मुख्यमन्त्रीले राजिनामा पत्र बुझेको बताए । उनले भने,‘शुरुमा नबुझेपछि सचिवालयमा दर्ता गराउन खोजेका थियौं तर साँझमा मुख्यमन्त्री आफैले राजिनामा पत्र बुझ्नुभयो ।’ उनका अनुसार राजिनामा पत्र बुझाउन गएका मन्त्रीका स्वकीय सचिव अधिकारीले राजिनामा पत्र बुझाउन ३ घण्टा कुर्नु परेको थियो ।

मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरी सापकोटाले मन्त्री मनाङेको राजिनामा मुख्यमन्त्रीले बुझिसकेको बताए । उनले पत्र हेरेर आवश्यक कारवाही हुने बताए । यद्वपी मुख्यमन्त्री पाण्डे भने मनाङेलाई मन्त्रालय साटफेर गरेर फकाउने रणनीतिमा रहेको श्रोतले बतायो ।

मन्त्री मनाङेले भने आफूलाई अल्छी लागेकाले राजिनामा दिएको बताएका छन् । अब सरकारमा जान्न,उनले भने,‘कति खाने मन्त्री, अब रेष्ट गर्छु ।’ उनले आफूलाई दिएको मन्त्रालयमा बजेट नै नहुने भएकाले मन्त्री हुनुको अर्थ नभएकोसमेत बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।