पोखरा । सिद्धि सेतुली स्मृति प्रतिष्ठानले पोखराका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, ज्ञानभुमि शान्तरत्न जेहेन्दार पुरस्कार तथा नगद छात्रवृत्ति वितरण गरेको छ ।
प्रतिष्ठानले ‘बाल शिक्षा कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि १२ सम्मका एक सयस ७९ जना बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका संस्थापक संरक्षक बिश्वरत्न शाक्यले जानकारी दिए । कक्षा ११ र १२ मा अध्ययनरत ४६ विद्यार्थीलाई ६/६ हजारका दरले नगद छात्रवृत्ति दिइएको छ । यस्तै, १० वटा बिद्यालयका १ सय १८ जनालाई ब्यागसहित शैक्षिक सामग्री र सहारा आधारभूत विद्यालयका १५ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको शाक्यले बताए ।
पोखराका कन्या क्याम्पस, कन्या मावि, बालमन्दिर मावि, नवप्रभात मावि, सिर्जना बहिरा मावि, अमरसिंह मावि, ज्ञानभूमि आधारभूत बिद्यालय, महेन्द्र मावि, कुँडहर आधारभूत विद्यालय, सिद्धार्थ आधारभूत बिद्यालय र सहारा आधारभूत बिद्यालयका विद्यार्थी छनोट गरेर सहयोग गरिएको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका मानार्थ सम्मानित सदस्य डा. अनिल सुवेदीले छात्रवृत्ति पाउने ठूलो कुरा नभइ, सदुपयोग गर्न सक्नु ठूलो हो भने । छात्रवृत्ति पाउने विद्यार्थी अरुभन्दा अब्बल र सक्षम हुनुपर्ने र उनीहरुबाट अरुले सिक्नुपर्ने उनको भनाइ थियो । विद्यार्थीको पढाइलेखाइ विद्यार्थीमा मात्र भर नपर्ने भएकाले अभिभावक र शिक्षक पनि चनाखो हुनुपर्ने उनले बताए । सुबेदीले चन्द्रमा छुने लक्ष्य, कार्य योजना, एक्सन र अनुशासित भई निरन्तरता दिए बिद्यार्थीले सफलता पाउने बताए ।
प्रतिष्ठानका संस्थापक तथा संरक्षक शाक्यले प्रतिष्ठानले आर्थिक अवस्था कमजोर भएका तथा जेहेनदार विद्यार्थीलाई सहयोग गर्दै आएको बताए । शिक्षाको पहुँचबाट टाढा रहेका तथा आर्थिक अभावकै कारण पढाइ छोड्नपर्ने अवस्था भएका विद्यार्थीलाई सामाजिक संस्थाले निभाउनुपर्ने दायित्व पूरा गर्ने उनको प्रतिबद्धता थियो । उनले शैक्षिक सामग्री १,१५,४०२/- स्कुल व्याग ६४,४००/- नगद छात्रवृत्ति २,५२,०००/- गरि कुल रु ४,३१,८०२/- को शैक्षिक सामग्री तथा छात्रवृत्ति बितरण गरिएको जानकारी दिए ।
संस्थाका पूर्व अध्यक्ष एवं संरक्षक सदस्य नरेन्द्रमान लालचनले सिद्धि सेतुली स्मृति प्रतिष्ठान समाजसेवामा पूर्णरुपमा समर्पित संस्था भएको बताए । प्रतिष्ठानका सहयोगी संरक्षक क्या. मनबहादुर गुरुङले विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन छात्रवृत्ति प्रदान गरिएको बताए । छात्रवृत्तिको सक्दो सदुपयोग गर्न उनको सुझाव थियो । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले प्रतिष्ठानको बृहत् कार्यमा वडाले सहयोग गर्ने बताए ।
बाल मन्दिर माविका प्रधानाध्यापक सुशील बस्नेतले छात्रवृत्तिले विद्यार्थीको शैक्षिक विकासमा सहयोग, प्रेरणा र हौसला मिल्ने बताए । कार्यक्रममा कन्या क्याम्पसकी विद्यार्थी यसोदा पुर्जा पुन र सिर्जना बहिराका यमुना खत्रीले छात्रवृत्तिले पढाइमा सहयोग गर्ने बताएकी थिइन् ।प्रतिष्ठान अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला तझ्याले स्वागत र सचिव इन्द्रकमल मानन्धरले सञ्चालन गरेकी थिइन् ।
प्रतिष्ठानले छात्रवृत्ति बितरणकालागि रु १ करोडको मुद्दती खाता खोलि अक्षय कोष स्थापना गरेको छ । प्रतिष्ठानले शैक्षिक सामग्री (कपी, ड्रईङ, कपी, पेन्सिल, डटपेन, ज्योमेट्री बक्स, ईरेजर, पेन्सिल कटर, क्रेन कलर, स्कुल व्याग), नगद छात्रवृत्ति (कक्षा ११ र १२ मा अध्ययनरत छनौट भएका प्रत्येक बिद्यार्थीलाई) बार्षिक रु ६ हजार र ज्ञानभुमि शान्तरत्न जेहेन्दार छात्रवृत्ति (वार्षिक परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने ज्ञानभूमि मा.वि.का आधारभुत (प्राथमिक, नि.माध्यमिक) र माध्यमिक तहका एक एक छात्र र छात्रालाई तह अनुसार रू १ हजार, २ हजार र ३ हजार गरी कुल १२ हजार गरि ३ प्रकारका छात्रवृत्ति १५४ जना बिद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको शाक्यले बताए । यस बर्षदेखि सहारा आ.बि. १५ जना बिपन्न समुदायका बिद्यार्थीलाई स्टेशनरी प्रदान गरि पहिले पटक समेटिएको हो ।
पापदण्ड पूरा गरेका छात्रा छात्रहरूले आवश्यक कागजात र बिद्यालयको सिफारिससहित प्रतिष्ठानमा आवेदन दिएपछि छात्रवृत्तिका लागि नाम छनोट गरिएको प्रतिष्ठानका सचिब इन्द्रकमल मानन्धरले बताए । छात्रवृत्ति छात्र र छात्राको अनुपात बराबर हुने गरिने र एक पटक छानिएका बिद्यार्थीलाई बिद्यालय छोडे वा अन्तिम परीक्षामा अनुत्तिर्ण भएको अवश्था बाहेक सो बिद्यालयमा कक्षा १२ सम्म अध्ययन गरिन्जेल निरन्तर छात्रबृत्ति सुबिधा प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष प्रमिला तझ्याले बताइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।