प्रथम अन्तर क्लव ह्याण्डवलको उपाधी टिम मनकामनालाई


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८१ मा प्रकाशित




भदौ २० पोखरा । पोखराको बाटुलेचौरमा आयोजित प्रथम अन्तर क्लव ह्याण्डबल प्रतियोगिताको उपाधि टिम मनकामनाले उचालेको छ ।

ऐतिहासिक बाटुलेचौर तीज मेलामा आयोजना भएको प्रतियोगितामा टिम विशाललाई पराजित गर्दै टिम मनकामनाले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेतामा चित्त बुझाएको टिम विशालले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल बस्नेतले जानकारी दिए ।
त्यस्तै हाईजेष्ट स्कोर टिम मनकामनाका विशाल वस्नेत, वेष्ट किपर टिम मनकामनाकै निशान गुरुङ र वेष्ट प्लेयर टिम विशालका सुदिप गुरुङ घोषित भए ।

विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र मुल व्यवस्थापन समितिका संयोजक रामकुमारी बानियाँले नगद, ट्रफी, मायाको चिनो र प्रमाणपत्र वितरण गरे ।

तीन दिनसम्म भएको प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका थिए ।

यसैविच, मेलामा आयोजित अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा विन्ध्यवासिनी माध्यमिक विद्यालय प्रथम भएको छ । १७ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा अल्फा बोडिङ्ग स्कूल द्वितीय, रिभरडेल स्कुल तृतीय र पोखरा एकेडेमी, ईन्द्रराज्य लक्ष्मी मा वि, निर्मल आधारभूत विद्यालय सान्त्वना भएको संयोजक मञ्जु बस्यालले जानकारी दिइन् । विजयी टोलीले नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।