भदौ २२ पोखरा । सतहत्तर वर्षकी आमाले रचना गरेको ‘जिन्दगीका पानाहरु’ पुस्तकको शनिबार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण भएको छ । पोखरा–३२ सातमुहाने देउराली निवासी बिमला अधिकारीले सिर्जना गरेको उक्त कृतिको विमोचन भएको हो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीले सो कृतिको विमोचन गर्दै पुस्तक आमाहरुको जीवनका भोगाइ र अनुभवहरुको संगालो भएको बताए ।
सो कृतिले पछिल्लो पिंढीलाई विगत बुझ्न सहयोग गर्ने उनको भनाइ थियो । कुलपति खड्काले तीज पर्वलाई सिर्जनासँग जोड्ने भएकाले यो कृति विशेष भएको भन्दै सर्जक अधिकारीलाई बधाई दिए ।
२००५ सालमा जन्मिएकी अधिकारीले ग्रामीण महिलाहरु शिक्षाको पहुँचभन्दा बाहिर भएको समयमा पनि नौ कक्षासम्मको अध्ययन गरेकी थिइन् । पढ्ने रहर हुँदाहुँदै पनि थप शिक्षा आर्जन गर्न नसकेको उनले बताइन् । उनको सिर्जनात्मक रहर भने अहिले आएर पूरा गरेकी छन् । उनको कृतिमा महिला अधिकार, वातावरण, समाज, नीति र विधिका साथै आफ्ना भोगाइहरु समेटिएका छन् ।
सो कार्यक्रममा बोल्दै गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटाले आमाको कृति सबैका लागि पे्ररणादायी भएको बताए । त्यसैगरी उनका छोरा शालिकराम अधिकारीले आमाको संस्कारले नै परिवार सफल भएको बताए ।
कार्यक्रममा सूर्यभक्त सिग्देल, घनश्याम भण्डारी, नरेन्द्र पौडेल, विजय सुवेदी, गोविन्द पौडेल, बाबुराम सुवेदी, राजेन्द्र ओझा, बिष्णु अधिकारी, सविना भण्डारी, ईशा पौडेल, लोकराज अधिकारी, युवराज त्रिपाठी, कृति लामिछानेलगायतका स्रष्टा एवम् परिवारका सदस्यले आमा र कृतिका बारेमा बोलेका थिए । सो कृति उनको परिवारद्वारा प्रकाशन गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भोलि शनिबार आयोजना हुन लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित भएको छ…







