
पोखरा। गण्डकी प्रदेश सभा सचिव हरिराज पोखरेलले संघ, प्रदेश तथा स्थानीय तहको सामूहिक प्रयासबाट जनताले अनुभूति गर्ने खालको विकास र परिवर्तन सम्भव हुने बताएका छन् । शुक्रबार फेदीखोला गाउँपालिका १, स्याङ्जामा जेन्टलमेन युवा क्लबले आयोजना गरेको मट्टिखान तीज उत्सव-२०८१ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले पर्यटकीय मट्टिखान क्षेत्रको विकासको लागि विगतमा विभिन्न गतिविधि सञ्चालन गरेकोमा आगामी दिनमा पनि स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरिरहने प्रतिबद्धता जनाए ।
पछिल्लो समय मुलुकमा युवा शक्ति पलायन हुँदै गइरहेको अवस्थामा युवा लक्षित कार्यक्रम मञ्चालन गरी पर्यटनको माध्यमबाट रोजगारी सृजना गर्दै युवालाई आयआर्जनको बाटोतर्फ लैजान सके युवा पलायनलाई केही हदसम्म रोक्न सफल हुनेमा जोड दिए । हाल उक्त क्षेत्रमा एक घर एक धारा स्थानीय सडकको स्तरोन्नति गर्ने लगायतका कार्यहरू तत्कालै गर्नुपर्ने देखिएको भन्दै अबको ध्यान त्यसतर्फ गइरहेको बताए ।
प्रमुख अतिथि पोखरेललाई स्थानीयले बाजागाजासहित स्वागत गर्दै एक किमी पैदलयात्रा गरी कार्यक्रम स्थलसम्म पुऱ्याएका थिए । कार्यक्रम खुला तीज गीत प्रतियोगिता, खुला भलिबल प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, म्युजिकल चियर लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।