पोखरा, भदौ २५
सहकारी पीडितहरुले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेश स्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आएका बेला सहकारी पीडितहरुले लामिछानेबिरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरु बैठक स्थल पोखरा–१७ विरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरु भेला भएपछि त्यसलाई निस्तेज गर्न ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने पुग्नुअघि नै नाराबाजी शुरु गरेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो । तर प्रहरी हस्तक्षेपका बाबजुद सहकारी पीडितहरुले लामिछानेकै अगाडि कालोझण्डा देखाउनुका साथै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
सहकारी पीडितहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण ?’ सहकारी ठग मुर्दावाद, जिवी राई कहाँ छ ? रविलाई थाहा छ, ए सरकार तेरो यो पाराले, दुःख पाए सहकारी पीडित साराले, गोरखा मिडियामा हालेको सहकारीको रकम फिर्ता गर, सहकारीको पैसाले खोलेको टिभीले, बचतकर्ताको छातिमा लगायो टिवी, हाम्रो समस्या समाधान गर्न छिटो आउ जिवी, जिवि नआए सबैकुराको जिम्मा लेउ रविलगायतको नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
नाराबाजीका बिच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर बैठक स्थल पु¥याएका थिए । बैठक स्थलमा पत्रकारलाईसमेत प्रवेश निषेध गरिएको थियो । बैठक स्थलको मूल गेटमा ताला लगाएर कडा सुरक्षाका बीच बैठक बसेको थियो ।
सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारी ठगीमा जोडिएका तथा वर्तमान सरकारमा रहेका सबैलाई कालोझण्डा देखाउँदै प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार रवि लामिछानेबिरुद्धपनि कालोझण्डा देखाइएको बताए । रविले काम गरेको संस्था गोरखा मिडियामा सहकारीको बचत रकम लगेर दुरुपयोग भएको छ,उनले भने,‘त्यसको जवाफदेही उहाँ हो । उहाँले होईन भनेर उम्किन पाउनुहुन्न ।’ गृहमन्त्री हुँदा ३÷४ पटक भेटेर जिवी राईलाई नियन्त्रणमा लिएर बचत रकम फिर्ता गर्न दवाब दिएको तर रविले नै पूर्व सूचना दिएर जिवी राईलाई भगाएको उनको आरोप छ । ‘जिवी राई रहेको ठाउँ पत्ता लाग्यो अब नेपाल ल्याउँछौं भन्नुहुन्थ्यो तर अहिलेसम्म किन ल्याइएन जिवीलाई ? त्यसैले राजनीतिक संरक्षण छ भन्ने प्रष्ट छ’–उनले भने ।
सहकारी पीडित टीकाराम जैसीले सहकारी ठगेर रविले राजनीतिक दल खोलेको आरोप लगाए । सहकारीको बचत रकम दुरुपयोग गरेर पार्टीमा हालियो,उनले भने,‘बचतकर्ता मारेर दल खोल्नु अपराध हो ।’ जनतासँग डराएर गेटमै ताला लगाएर कार्यक्रम गरेको उनले टिप्पणी गरे । ‘ताला लगाएर बैंक्यूटमा बैठक बस्नुपनि एक किसिमको जेल बसेजस्तै हो । अपराध गरेपछि यस्तै हुन्छ’–उनले आक्रोषित मुद्रामा भने ।
अर्का पीडित तारापती सापकोटाले बचत रकम कुम्ल्याएर आफूहरुलाई घर न घाटको बनाएको गुनासो गरे । हाम्रो बचत रकम कुम्ल्याएर कोहि पार्टी खोल्छन् त कोहि महंगा गाडी चढ्छन्, उनले भने,‘हामीले दुःख गरेर कमाएको पैसा सबै कुम्ल्याए । अब हामी न यहिं पेशा, व्यवसाय गर्ने सक्ने भईयो नत विदेश जाने पैसा नै रह्यो । यिनीहरुले हामीलाई घर न घाटको बनाए ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







