पोखरा, भदौ २५
नेपाल हवाई खेलकुद संस्था ‘ना’ले प्याराग्लाईडिङमा सोलो उडान खुल्ला गर्न माग गरेको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै केहि वर्षदेखि बन्द गरिएको प्याराग्लाईडिङमा सोलो उडान खुल्ला गर्न ‘ना’ले माग गरेको हो । ‘ना’को मंगलबार पोखरामा भएको २१ औं साधारण सभा तथा १० औं अधिवेशनको उद्घाटन शत्रमा बोल्दै ‘ना’का अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको पर्यटन उकास्ने हो भने सोलो उडान खोल्नुको विकल्प नरहेको बताए । सोलो उडान नहुँदा विदेशी पर्यटकको आगमन कम भएको उनको भनाई छ । विदेशी प्याराग्लाईडरहरु पोखरामा सिक्न र उड्न आउने गरेको तर सोलो उडान हुन छाडेपछि आउन छाडेको उनले दाबी गरे । भने,‘यसले गर्दा प्याराग्लाईडिङलाई ठूलो धक्का दिइरहेको छ । यसलाई जतिसक्दो चाँडो खोल्नुपर्छ ।’
तर सोलो उडान खुल्ला गर्ने वित्तिकै त्यस्ता रोकिएका पर्यटक नेपाल आउने उनले दाबी गरे । यसले शिथिल पर्यटनलाई राहत दिने उनको ठम्याई छ । त्यसबाहेक सोलो उडान नहुँदा नया जनशक्ति उत्पादनमासमेत समस्या परेको उनले बताए ।
अध्यक्ष भट्टराईले सराङ्कोट र तोरीपानीबाट प्याराग्लाईडिङ उडान बन्द गर्दा त्यसको असर व्यवसायमा परेको बताए । तर अहिले फेरी तोरीपानीबाटै उडान हुन शुरु भएपछि केहि उत्साह थपिएपनि ल्याण्डिङ टाढाहुँदा पुराने लयमा भने फर्काउन नसकिएको गुनासो गरे । टेकअफ त पुरानै तोरीपानीमा फर्कियो,उनले भने,‘तर ल्याण्डिङ खपौंदीमा फर्किएको छैन । यसको असर व्यवसायमा परिरहेको छ ।’ खपौंदीमै ल्याण्डिङ गर्ने वातावरण मिलाउनपनि आग्रह गर्दै उनले त्यसो गर्न सके प्याराग्लाईडिङ मात्र नभई समग्र पर्यटन नै पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे ।
त्यस्तै, उनले प्याराग्लाईडिङको विश्वकप, एसिया कपलगायतका प्रतियोगिताहरु निरन्तर गरिरहनुपर्नेसमेत बताए । यसलेपनि विदेशी प्याराग्लाईडर र पर्यटकहरुलाई आकर्षित गर्ने उनको भनाई थियो ।
साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै ‘ना’का महासचिव बलराम आचार्यलेपनि प्याराग्लाईडिङको सोलो उडान खोल्नका लागि पहल गरिने बताएका छन् । सोलो उडान खुल्ला गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक समन्वय गरिदै आएको छ,प्रतिवेदनमा उनले भनेका छन्,‘सोलो उडानको सुनिश्चितता गर्नु नै आजको मुख्य आवश्यक्ता हो ।’ त्यस्तै, खपौंदीमा ल्याण्डिङ गर्ने, प्याराग्लाईडिङको राष्ट्रिय, अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने, प्याराग्लाईडिङ पाइलटहरुका लागि तालिमलगायतलाईपनि उनले प्राथमिकताका साथ प्रतिवेदनमा समेटेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखराको पर्यटनमा प्याराग्लाईडिङ खम्बाको रुपमा रहेको बताए । पोखरामा प्याराग्लाईडिङ राखिराख्नुपर्ने भन्दै उनले भने,‘यसको संरक्षण र प्रवद्र्धन गरेरै यहाँको पर्यटनलाई माथि उकास्न सकिन्छ । यसका लागि प्रदेश सरकार यहाँहरुलाई सहयोग गर्न तयार छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले आफूले जितेर अध्यक्ष भएमा प्याराग्लाईडिङलाई उच्च प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्याराग्लाईडिङ पोखराको पर्यटनको मेरुदण्ड भएको बताए । यसलाई बलियो बनाउन सकेमात्र पोखराको पर्यटनले गति लिने उनको भनाई थियो । ‘ना’का उपाध्यक्ष अनिल केसीले प्याराग्लाईडिङको विकास र बिस्तारमा समग्र पोखरेलीको साथ र सहयोग आवश्यक रहेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







