पोखराका एक व्यक्तिले गरे श्रीमतीको हत्या


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ २६

पोखराका एक व्यक्तिले सामान्य विवादमा श्रीमतीको हत्या गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय जहरसिंह कुँवरले आफ्नै श्रीमती ४० वर्षीया राधिका कुँवरको आज हत्या गरेका हुन् ।

दिनहुँ केहि न केहि विषयमा विवाद भइरहने कुँवर दम्पतीबीच मिलाप थिएन । वैदेशिक रोजगारीबाट फर्केका श्रीमान जहरसिंह र उनको श्रीमतीबीच दिनहुँजसो झैझगडा हुने गरेको थियो । सोहि कारण उनीहरुबीच सम्बन्ध बिच्छेदको प्रक्रियापनि अदालतमा चलिरहेको थियो । अदालतको आदेश नआईञ्जेल सँगै बस्ने भन्ने सहमति अनुसार उनीहरु एउटै घरमा बस्ने र एउटै भान्छा प्रयोग गर्थे ।

बुधबार दिउँसो श्रीमती राधिका घरबाट बाहिर निस्कन खोजेकी थिईन् । त्यो थाहा पाएपछि श्रीमान जहरसिंहले रोक्न खोजेका थिए । त्यस क्रममा विवाद शुरु भएको कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विवाद भएपछि श्रीमानले ‘आज तलाईं मार्दिन्छु । कि आज तँ छैनस् कि म छैन’ भन्दै खुकुरी प्रहार गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । उनका अनुसार जहरसिंहले दिउँसो १२ः१० मा श्रीमतीलाई घाँटी र पेटमा खुकुरी प्रहार गरेका थिए । श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी श्रीमती राधिकाको उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले दिउँसो १२ः४४ मा मृत घोषणा गरेको उनले जानकारी दिए ।

श्रीमानले पेटमा हानेको खुकुरीको प्रहारले घाईते राधिकाको पेटबाट आन्द्राभुँडी नै बाहिर निस्किएको थियो । एक प्रत्यक्षदर्शीले भनिन्,‘आन्द्राभुँडी जम्मै बाहिर निस्किएको थियो । हेर्दै विभत्स र डरलाग्दो थियो ।’

प्रहरीका अनुसार हत्या अभियोग लागेका जहरसिंहको मानसिक स्वास्थ्य राम्रो थिएन । उनले डिप्रेसनको औषधीसमेत लिने गरेको खुलेको एसपी थापाले बताए ।

घटनाको कास्की प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । हत्या अभियोग लागेका जहरसिंहलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको एसपी थापाले बताए । उनले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको एक थान खुकुरीसमेत बरामद गरिएको जानकारी दिए ।

कुँवर दम्पतीको एक छोरा रहेको खुलेको छ । थप विवरण अनुसन्धानपछि खुल्ने कास्की प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।