
फाइल तस्विर
भदौ ३० काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौतापछि आज मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिँदै सञ्चारमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक योजनालगायतबाट निर्धारण भएका लक्ष्य प्राप्त गर्न उत्कृष्ट कार्यसम्पादनसहित सबैले आफ्नो जिम्मेवारी इमानदारिताका साथ पूरा गर्नुपर्ने बताएका हुन् ।
मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच सञ्चारमन्त्री गुरुङ र सञ्चारसचिव राधिका अर्यालबीच कार्यसम्पादन सम्झौता भएको छ । त्यस्तै, सञ्चारसचिव अर्याल र मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवम् मन्त्रालय मातहतका निकायका प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको हो ।
कार्यसम्पादन सम्झौतापछि मन्त्रालय र मातहतका कर्मचारीलाई निर्देशन दिनुहुँदै सञ्चारमन्त्री गुरुङले भने, “निर्धारण भएका लक्ष्य तोकिएको लागत र समयभित्र सक्नका लागि सामुहिक रुपमा अघि बढ्नुपर्छ । एक जनाको प्रयास मात्रै पर्याप्त हुँदैन । सामुहिक प्रयासबाट हामी उत्कृष्ट कार्यसम्पादन गर्न सक्षम हुनेछौं ।”
सरकारले पहिलो सय दिन, दोस्रो सय दिन र त्यसपछिको एक सय ६५ दिनको समीक्षा गर्नेगरी कार्यसम्पादन सम्झौता गरेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले अरु मन्त्रालयभन्दा सञ्चार मन्त्रालयको कार्यसम्पादन उत्कृष्ट साबित हुनेगरी काम गर्न निर्देशन दिए ।
सो अवसरमा उनले नेपालको आफ्नै स्याटलाइट आवश्यक रहेको बताउँदै यसले मुलुकको विकास मापन गर्ने मापदण्डको रुपमा काम गर्ने उल्लेख गरे । ‘डिजिटल नेपाल फ्रेमवर्क’को प्रभावकारी कार्यान्वयनका लागि पनि सञ्चारमन्त्री गुरुङले निर्देशन दिए । त्यस्तै, सुरक्षित मुद्रण (सेक्युरिटी प्रिन्टिङ)सम्बन्धी योजनलाई चालु आर्थिक वर्षभित्रै कार्यान्वयनमा लैजाने गरी काम गर्न उनको निर्देशन छ ।
“सेक्युरिटी प्रिन्टिङको काम आफै गर्ने भनेर केही काम अघि बढेकोमा अहिले त्यतिकै रोकिएको छ । यो राष्ट्रिय सुरक्षाको कुरा पनि हो । बैंक नोट, हुलाक टिकट, राहदानी, अन्तःशुल्क स्टीकरलगायत छपाइका काम हामी आफै गर्नुपर्छ,” गुरुङले भने ।
सुरक्षित मुद्रण केन्द्रमा चाँडै नेतृत्व दिएर अर्को वर्षबाट सुरक्षित मुद्रणका आफैले गर्नसक्ने गरी व्यवस्था मिलाउन पनि उहाँले निर्देशन दिए । त्यस्तै, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) सम्बन्धी कानुनी तथा प्राविधिक संयन्त्रको निर्माण र मुलुकको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको योगदान बढाउने गरी ‘डिजिटल इकोनोमी’को अवधारणालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता सञ्चारमन्त्री गुरुङले औँल्याए ।
कार्यसम्पादन सम्झौतापछि सरकारी सञ्चारमाध्यामलाई थप प्रतिस्पर्धी र व्यावसायिक भएर काम गर्न उनले निर्देशन दिए । सरकार र मातहतका निकायबाट हुने प्रचारप्रसार र विज्ञापनसम्बन्धी कार्यमा सरकारी सञ्चारमाध्यामलाई प्राथमिकतामा राख्नेगरी योजना बनाईने पनि स्पष्ट पारे ।
सरकारी सञ्चारमाध्यामको जनशक्ति पुनःसंरचना गर्ने र त्यस्ता संस्थाका कर्मचारीलाई तालिम दिने उद्देश्यले सञ्चार क्षेत्रको छुट्टै प्रतिष्ठान स्थापना गर्नेबारे आफू सकारात्मक रहेको पनि सञ्चारमन्त्री गुरुङको भनाइ छ । मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यका लागि आवश्यक पर्ने कानून निर्माणको काम यसैवर्षभित्र गरिसक्ने दाबी उनको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।