फाइल तस्विर
असोज २ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई चुस्त, छरितो र विश्वसनीय बनाउन प्रविधिमैत्री हुनुपर्ने बताएका छन् ।
डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको आज निरीक्षण गर्दै मन्त्री गुरुङले सबैभन्दा संवेदनशील सेवा भएकाले सेवाग्राहीमैत्री एवं विश्वसनीय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।
यो वर्ष राष्ट्रिय हुलाक नीति बनाएर हुलाकसँग सम्बन्धित अधिकांश समस्या समाधान गर्ने विश्वास दिलाउँदै सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले हप्ताको एक दिन ट्रकमार्फत डाँक सेवा प्रदान गर्दै आएकामा अबदेखि दैनिक रुपमा ट्रक डाँक सेवा सञ्चालन गर्न निर्देशन दिए । “किन हप्ताको एक दिन सेवा दिने ? सहजीकरण गर्न मन्त्रालय तयार छ । तर, दैनिक रुपमा ट्रक डाँक सेवा सञ्चालन गर्नुहोस्”, उनले भने, “अहिलेको समयमा जतिसक्दो चाँडो सेवा दिन जरुरी छ ।”
हुलाक कार्यालयका सबै गतिविधिलाई डिजिटल बैंक (इसेवा, क्युआर) बाट भुक्तानी गर्ने व्यवस्थामा लैजानुपर्नेमा जोड दिँदै उनले विश्व हुलाक सङ्घसँग सम्झौता गरिएकाले सङ्घको मापदण्डअनुसार हुलाक कार्यालयको संरचना बन्नुपर्ने धारणा राखे ।
सञ्चार तथा सूचना मन्त्रालयका सचिव राधिका अर्यालले विसं १९३५ मा ‘नेपाल हुलाक घर’ को नामबाट सेवा सुरु गरेको गोश्वारा हुलाक आफैमा ऐतिहासिक महत्त्व रहेको बताए । समयानुकूल प्रविधिमैत्री हुलाक बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उनले आमसर्वसाधारणको पहुँचसम्म हुलाक सेवा पु¥याउने रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिए ।
“हुलाक सेवा विश्वसनीय र भरपर्दो छ भन्ने जनमानसमा धारणा सिर्जना गराउने काम कर्मचारीको हो”, उनले भने, “तपाईँहरूलाई आवश्यक के के स्रोतसाधन चाहिन्छ, मन्त्रालय सधैँ सहकार्य गर्न तयार छ ।”
गोश्वारा हुलाक कार्यालय प्रमुख हुलाक अधिकृत वासुदेव रेग्मीले गोश्वारा हुलाक कार्यालयले प्रदान गर्दै आएको सेवा, समस्या, चुनौती र भावी अपेक्षाबारे मन्त्री समक्ष प्रस्तुति दिए । उनले विना तालिम, सिमित जनशक्ती र व्यवस्थित नीति नहुँदा हुलाक सेवा प्रवाहमा चुनौती खेप्नुपरेको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







