पोखरा, असोज ३
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको टिप्पणी गरेकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम अधिवेशनलाई विहीबार पोखरामा संबोधन गर्दै उनले गणतन्त्रमा गणतन्त्रकै विरोधी शासक बन्दा संविधानले पोलिरहेको बताएकी हुन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उनले भनिन्,‘वयलगाडा चढेर अमेरिका पुगिन्छ ? गणतन्त्र आउँदैन । भन्नेहरु अहिले गणतन्त्रको शासक बन्दा त्यो संविधानले पोलिराखेको छ । त्यसमा लेखिएका गणतन्त्र, संघीयता, समावेशी, समानुपातिकलगायतका अधिकारहरु नरुचाउनेलाई संविधानले पोलिराखेको छ ।’ जनयुद्धका यी उपलब्धीहरु देख्दा जनताको घरघरमा माओवादी छ भन्ने लागेकाले ती उपलब्धी हटाउने षडयन्त्र भइरहेको उनको आरोप छ ।
उपाध्यक्ष भुषालले दशौं हजार सहिदको वलिदान, हजारौं महिला दिदी बहिनीहरुले लडेर ल्याएको संविधान संसोधन गरेर जनताको अधिकार खोस्ने षडयन्त्र भए त्यसको प्रतिवाद महिलाहरुले गर्ने बताईन् । समाजवादमा जानका लागि संविधान संसोधन हुनसक्छ,उनले भनिन्,‘तर समावेशी र समानुपातिक अधिकार खारेज गर्न संविधान संसोधन गर्ने षडयन्त्र भइरहेको छ । यसकाबिरुद्ध सजग र सचेत भएर बस्नुहोला । त्यसका लागि सडकबाटपनि लड्नुपर्ने हुनसक्छ ।’ उनले संविधान संसोधन गर्न सकिने तर त्यसका लागि जनताको म्याण्डेट जरुरी रहेको बताईन् । त्यसका लागि निर्वाचनमा जाँदा के के विषयमा संसोधन गर्ने हो त्यसलाई एजेण्डाका रुपमा लगेर जनमतले अनुमोदन गरेपछि भने संविधान संसोधन गर्न सकिने उनको भनाई छ । उनले महिलाको प्रतिनिधित्व ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पु¥याउने, दलित, अल्पसंख्यकलगायतको प्रतिनिधित्व जनसंख्याका आधारमा सुनिश्चित गर्ने हो भने त्यसका लागि संविधान संसोधन गर्न महिलाहरुले सहयोग गर्ने बताईन् । उनले संविधान संसोधन गर्नुको सट्टामा दलित, महिला, मधेशी, मुश्लिम, आदिवासी, जनजाति,अल्पसंख्यकलगायतले पाएको अधिकार रक्षाका निम्ति, कार्यान्वयनका निम्ति लाग्न आग्रहसमेत गरिन् ।
उपाध्यक्ष भुषालले प्रचण्डको प्रतिवादपछि संविधान संसोधनको विषय कांग्रेस–एमालेले उठाउन छाडेको दाबीसमेत गरिन् । समावेशी, समानुपातिक अधिकार मास्ने षडयन्त्र बुनेर हठात रुपमा प्रजातान्त्रिक मूल्यमान्यता विपरित दुई ठूला दल मिले,उनले भनिन्,‘तर प्रचण्डले प्रतिवाद गरेपछि अहिले त्यो विषय स्थगन भएको छ । त्यसपछि उपसभामुख हटाउन खोजे, त्यसकोपनि माओवादीले नै प्रतिवाद गरेपछि त्योपनि अहिले उठाउन छाडेका छन् ।’
उपाध्यक्ष भुषालले संविधानले दिएको अधिकार लिनपनि महिलाहरु हिच्किचाईरहेको टिप्पणी गरिन् । अंश, वंश, ज्यालामा असमानता रहेपनि बुबा, दाजुभाई, श्रीमान, छोरा रिसाउँछन् कि भनेर महिलाहरुले पाएको अधिकारपनि लिन हिच्किचाईरहेको उनको भनाई छ ।
नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दीननाथ शर्माले दश वर्ष भित्रमा समाजवादी क्रान्ति हुने दाबी गरे । हरेक १०÷१० वर्षमा देशमा परिवर्तनका लागि क्रान्ति भइरहने भन्दै अब समाजवादी क्रान्ति हुने उनको भनाई थियो । ‘समाजवादी क्रान्ति त हुन्छ हुन्छ । किनकी यहाँ माओवादी छ’–उनले भने ।
अधिवेशनको अवसरमा जनयुद्धका क्रममा पक्राउ परेर जेल ब्रेक गर्ने महिला नेतृहरु कमला नहर्की, सञ्जु कुमाल र नीता विक तथा जनयुद्धकी घाईते पत्रकार गोमा घिमिरेलाई सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







