पर्यटन मन्त्रालय विषयगत समितिको बैठक: पदमार्ग विकास र बिस्तारको मापदण्ड बनाउन अध्ययन समिति गठन


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०८१ मा प्रकाशित




संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय विषयगत समितिको बैठकले पदमार्ग विकास र बिस्तारको मापदण्ड सूचक र सहकार्य सम्बन्धी अध्ययन गर्न समिति बनाएको छ ।

पर्यटनको राजधानी पोखरामा संघ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसहित प्रदेश स्तरीय मन्त्रीहरु सहभागी बैठकले पदमार्ग विकास र बिस्तारको मापदण्ड सूचक र सहकार्य सम्बन्धी अध्ययन गरी प्रतिवेदन बनाउन संघ सरकारका सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएको हो । समितिमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत, नीजि क्षेत्रको तर्फबाट ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का प्रतिनिधि, सातवटै प्रदेशका पर्यटन सचिवहरु तथा नगरपालिका र गाउँपालिका महासंघका प्रतिनिधि सदस्य रहेको अध्ययन समिति बनाएको हो । समितिलाई पर्यटनको विकास, बिस्तारमा साझेदारी, सञ्चालन र लगानीको ढाँचाको विषय अध्ययन गरी आगामी बैठकमा सुझाव पेश गर्नेगरी कार्यादेश तोकेको संघ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए ।

बैठकले पर्यटन शुल्क, दस्तुर संकलन, बाँडफाँट र उपयोगको सम्बन्धमा राष्ट्रिय मापदण्ड बनाउन संघीय मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । मनपरी शुल्क लिने र दोहोरो, तेहेरो शुल्क लिएको भन्दै नागरिक स्तरबाट विरोध आउन थालेपछि परिषद बैठकले मापदण्ड बनाउन संघीय मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । ‘यो मापदण्ड जरुरी देखियो । यो संघीय मन्त्रालयले गर्छ’(बैठकपछि मन्त्री पाण्डेले भने ।

त्यस्तै, बैठकले संघीय मन्त्रालयले तयार गरेको पर्यटन नीतिको मस्यौदा सबै प्रदेश मन्त्रालयलाई तत्काल सम्प्रेषण गर्ने निर्णय गरेको छ । बैठकमा संघीय पर्यटन नीति प्रदेशमा नआउँदा प्रदेश पर्यटन नीति बनाउन अप्ठेरो भएको तथा कतिपय सन्दर्भमा अन्यौलतासमेत देखिएको आवाज उठेपछि बैठकले पर्यटन नीति तत्काल प्रदेशमा पठाउने निर्णय गरेको हो । सो नीति प्रदेशमा आएपछि प्रदेशले यथाशिघ्र राय, सुझाव संघीय मन्त्रालयलाई बुझाउनेपनि निर्णय भएको मन्त्री पाण्डेले बताए । उनले भने,‘पर्यटन नीति तर्जुमा गर्दा संघीय नीतिसँग तादात्म्यता मिल्नेगरी बनाउन यसले सघाउँछ ।’

बैठकले एकीकृत पर्यटन सूचना प्रणालीको विकास गरी लागु गर्ने सम्बन्धमा भएको प्रगतीलाई थप द्रुत बनाउने निर्णय गरेको छ । त्यस्तै, स्थलगत बाटोबाट आउने पर्यटकको अभिलेखीकरण प्रदेश सरकारले गर्ने निर्णयपनि भएको मन्त्री पाण्डेले जानकारी दिए ।

पोखरा बैठकले परिषदको बैठकलाई निरन्तरता दिने निर्णय गर्दै प्रत्येक ३÷३ महिनामा फरक÷फरक प्रदेशमा पालैपालो बैठक बस्नेपनि निर्णय गरेको छ । आगामी बैठक भने लुम्विनी प्रदेशको ठाकुरद्वारमा बस्ने निर्णय भएको मन्त्री पाण्डेले जानकारी दिए ।

बैठकले पर्यटकीय गन्तव्य पहिचान गर्ने निर्णय गरेको छ । पर्यटनको गन्तव्य घोषणासँगै त्यसका लागि आवश्यक पूर्वाधार खडा गर्न कठीनाई भएको महशुष भएकाले प्रत्येक प्रदेशलाई १०÷१० वटा पर्यटन गन्तव्य पहिचान गर्न र त्यसमध्ये एउटालाई प्रादेशिक पर्यटन गन्तव्य घोषणाका लागि सिफारिस गर्न भनेको मन्त्री पाण्डेले जानकारी दिए । ‘पर्यटनको गन्तव्यको प्राथमिकीकरण गर्ने सम्बन्धमा सबै प्रदेशले प्रादेशिक मुख्य गन्तव्य तथा गतिविधि हुने स्थलको पहिचान गरी प्रोफाइलको तयार गर्ने निर्णय भएको छ’(उनले भने । त्यसपछि एकीकृत प्रोफाइल बनाउन नेपाल पर्यटन वोर्डले सहयोग गर्ने उनले बताए ।

बैठकले अतिथि देवो भवःको संस्कृतिलाई पुर्नजागृत गराउन अभियान सञ्चालन गर्ने मौखिक सहमति गरेको छ । त्यसका लागि आवश्यक पर्ने सबै व्यवस्था गर्ने सहमति भएको उनले बताए । उनका अनुसार स्थल मार्गबाट आउने पर्यटकले रेस्पोन्स र रेस्पेक्ट नपाउने गरेको गुनासोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सहजीकरण गर्ने निर्णय भएको छ । स्थल मार्गबाट आउने पर्यटकले सुरक्षा जाँच, एक जना पर्यटकले २५ हजार भन्दा बढी ल्याउन नपाउनेलगायतका अनगिन्ति समस्या भोग्नुपर्ने रहेछ,उनले भने,‘यस्ता नीतिगत तथा कार्यान्वयनमा देखिएका समस्या तथा जटिलताहरु अन्त्यका लागि पर्यटन मन्त्रालयबाट सम्भव भए सोहि मन्त्रालयबाट नभए गृह र अर्थ मन्त्रालयसँग समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने प्रदेश समन्वय परिषद बैठकमा पेश गर्ने सहमति भएको छ ।’

त्यस्तै बैठकले नेपालको हवाई मार्ग तथा स्थलगत मार्ग सुरक्षित रहेको सन्देश प्रवाह गर्नेपनि निर्णय गरेको छ । बैठकले हवाई मार्ग र स्थलगत मार्ग सुरक्षित र सहज रहेको, नियमित उडान हुने गरेको, उद्धारका लागि कठिनाई नभएको, सुरक्षा जोखिम नरहेको सन्देश प्रवाह गर्ने सहमति भएको मन्त्री पाण्डेले बताए । जसका लागि नेपाल एयरलाईन्सले ट्वीनअटर विमान खरिद गर्ने, सातै प्रदेशले आ(आफ्नो प्रादेशिक ध्वजावाहक जहाज खरिद गर्ने सम्बन्धी प्रारम्भिक सहमति भएको उनको भनाई छ । यसका लागि संघ, प्रदेश र स्थानिय तहले बजेट छुट्याउने र बाँकी रकम जनतालाई सेयर दिएर सञ्चालन गर्ने भन्ने सहमति भएको उनले बताए ।

मन्त्री पाण्डेले पोखरालाई पर्यटनको राजधानी बनाउने निर्णयको संघ सरकारले स्वामित्वग्रह गरिसकेको बताए । पर्यटनको राजधानी घोषणा गर्न संघ सरकारको मन्त्री परिषद बैठकमा दुईपटक प्रस्ताव गएपनि निर्णय नभई फिर्ता आएको थियो । सोहि विषयमा राखिएको प्रश्नमा उनले भने,‘प्रधानमन्त्री स्वयम् सहभागी भएपछि संघले एक प्रकारले स्वामित्व लिएको हो भनेर बुझ्दा हुन्छ । सरकार अविछिन्न उत्तराधिकारी संस्था हो । त्यसैले प्रधानमन्त्रीले घोषणा गरेको विषयलाई स्वामित्व लिएन, मान्यता दिएन भन्न मिलेन ।’ तर औपचारिक निर्णयका लागि भने पर्यटनको राजधानी बनाउने विधि, कानूनी प्रक्रियाका बारेमा अध्ययन गरेर निश्कर्षमा पुग्नका लागि गृहकार्य गर्नुपर्ने उनले बताए ।

दुई दिनसम्म चलेको बैठकमा संघ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेसहित गण्डकी, कोशी, लुम्विनी र कर्णाली प्रदेशका पर्यटन मन्त्री तथा सचिवहरु सहभागि थिए । बैठकमा सुदूरपश्चिम र वागमती प्रदेशका मन्त्रीहरु मौषम खराबीका कारण तथा मधेशका पर्यटन मन्त्री समय अभावका कारण सहभागी नभएको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।