कास्की प्रशासन कार्यालय अगाडि पेट्रोल पम्प बनाउने सम्बन्धमा कारण देखाउ आदेश जारी


     एभरेस्ट आवाज    
     असाेज १० गते २०८१ मा प्रकाशित




पोखरा, भदौ ९

जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पेट्रोल पम्प बनाउने सम्बन्धमा उच्च अदालत पोखराले कारण देखाउ आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल राष्ट्र बैंक, जिल्ला कारागार कास्कीसहितका सरकारी कार्यालयहरुजस्ता संवेदनशिल क्षेत्र नजिकै नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषको लगानीमा पेट्रोल पम्प निर्माण गरिन थालेपछि त्यसबिरुद्ध परेको रिट निवेदन उपर विहीबार कारण देखाउ आदेश जारी भएको हो ।

अदालतले प्रहरी र निवेदकलाई छलफलका लागि यहि असोज १५ गते बोलाएको छ । सोहि छलफलपछि अन्तरिम आदेश दिने÷नदिनेबारे निक्र्यौल हुने अदालत श्रोतले जनाएको छ ।

यसअघि नेपाल प्रहरीले सरकारी कार्यालयहरु रहेको क्षेत्र तथा सेवाग्राहीको भीड लाग्ने ठाउँ संघीय प्रहरी कार्यालय रहेको पुरानो भवनलाई भत्काएर पेट्रोल पम्प बनाउन थालेपछि स्थानियले विरोध जनाएका थिए । सेवाग्राहीको भीड हुने अति संवेदनशील क्षेत्रमा पेट्रोल पम्प नबनाउन स्थानियको माग छ । उनीहरुले यसको विकल्पमा अन्यत्र बनाउन माग गर्दै आएका छन् ।

सेवाग्राहीको भीड हुने क्षेत्रमा पेट्रोल पम्प निर्माण गरेर प्रहरी÷प्रशासनले गम्भीर गल्ती गरेको नागरिक समाज पोखराका संस्थापक अध्यक्ष तथा नागरिक अभियन्ता रामबहादुर पौडेलले बताए । उनले भने,‘सेवाग्राहीको भीडभाड हुने क्षेत्रमा जबरजस्ती अति प्रज्वलनशील पदार्थ भण्डारण हुने पेट्रोल पम्प बनाएर चरम लापर्वाही गरिदैछ । यसले जोखिम निम्त्याउँछ ।’

नागरिक समाजले उक्त ठाउँमा पेट्रोलपम्प नबनाउन माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी, पोखरा महानगरपालिका, गृह मन्त्रालयलगायतका ठाउँहरुमा ध्यानाकर्षण पत्र बुझाइसकेको छ । ज्ञापन पत्रमा निर्माण शुरु भएको पेट्रोल पम्पको निर्माण कार्य तत्काल रोक्न माग गरिएको पौडेलले बताए ।

प्रहरीले पेट्रोल पम्प निर्माण गर्न एनसी÷अल्फा–हेक्स÷तेजस्वी जे.भि. प्रालि काभ्रे, पोखरी चौरी—३ लाई ठेक्का दिएको छ । कम्पनीले २०८२ असार २० गतेसम्ममा पेट्रोल पम्पसहित त्यसलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण गरिसक्ने गरी सम्झौता भएको जनाइएको छ । पेट्रोल पम्प बनाउन करसहित ९ करोड ९६ लाख ६५ हजार ७ सय २९ रुपैयामा सम्झौता भएको कम्पनीले जनाएको छ ।

प्रहरीले भने विधि र प्रक्रिया पु¥याएरै पेट्रेल पम्प निर्माण गर्न लागेको दाबी गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।