असोज १० काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रुपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गरेका छन् ।
पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आजदेखि सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेगरी लाग्नुपर्ने बताए ।
सरकारको नेतृत्व गर्दा ठूलाठूला भ्रष्टाचार र अनियमितताका विरुद्ध जेहाद नै छेडेको दाबी गर्दै उनले बाँसबारी जग्गा प्रकरण, बालुवाटार जग्गा फिर्तालगायत विषयमा लडाईं लडिएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासमै सरकारकोतर्फबाट ठूलो कारबाही गरिएको जानकारी दिँदै उनले विचौलिया र दलालविरुद्ध उभिँदा सरकारबाट बाहिर पठाइएको जिकिर गरे ।
सरकारबाट बाहिरिँदा विजयी भावमा जनताकासामु जाने अवसर प्राप्त भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले नेपाली जनतालाई विश्वासमा लिएर आगामी निर्वाचनमा २०६४ कै जस्तो अवस्थामा पु¥याउनुपर्ने धारणा राखे ।
विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी)लाई बाघ सङ्गठनको सङ्ज्ञा दिँदै उनले भने, “हामीलाई अहिले सङ्ख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ । हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइलाई रक्षात्मक पोजिसनमा धकेलेका छौँ । हामी जीतका पक्षमा छौँ ।” उनले भ्रष्टाचारविरुद्ध अभियान चलाएपछि सरकारबाट हटाइएको भए पनि जनताको तागतले लड्ने स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले भने, “जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो । हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौँ । अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहीँ न कहीँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ । हामीले त्यसको घेरा तोड्दै आएका छौँ ।”
प्रतिनिधिसभामा दुई ठूला दल मिलेर जनताको बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै उनले सडकबाट प्रतिक्रियावादी शक्तिलाई झुकाउन सकिने उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको पहिलो सरकारले मध्यपहाडी राजमार्ग, उत्तरु दक्षिण करिडोर र मदन भण्डारी राजमार्गजस्ता पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण निर्णय लिएको जानकारी दिँदै तीमध्ये केही आयोजना सफलताको नजिक पुगेको बताए ।
दोस्रो प्रधानमन्त्रीत्वकालमा इतिहासमै पहिलो पटक विद्युत्भार कटौती अन्त्य गरेको र नेपाली नागरिकलाई उज्यालो प्रदान गरेको तथा तेस्रो कार्यकालमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण काम गरेको तथ्यलाई नेपाली जनताकामाझ लैजान उहाँले विद्यार्थी सङ्गठनलाई आग्रह गरे ।
अध्यक्ष प्रचण्डले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउने दाबी गरे । उनले आगामी केन्द्रीय समितिको बैठकले नयाँ इतिहास कायम गर्ने विश्वास व्यक्त गरे ।
मुलुकमा देखापरेको राजनीतिक जटिलता हल गर्नेगरी सो बैठकले निर्णय गर्ने भन्दै अखिल (क्रान्तिकारी) को सम्मेलनले ठूलो अर्थ राख्नेसमेत स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले यसपटक विद्यार्थी सङ्गठनले पार्टीको नीति, विधि र प्रक्रियाभित्र रहेर स्वच्छ स्वयत्तताको अभ्यास गर्न आग्रह गरे । जिल्ला, प्रदेश सम्मेलनमा कतै निर्वाचन एवं कतै सहमतिका आधारमा नेतृत्व चयन भएको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उनले सकेसम्म सहमति नभए निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन गर्न आग्रह गरे ।
आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए ।
“हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्ति कारबाहीमा परेको पहिलोपटक हो”, उनले भने, “सामाजिक न्यायका क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौँ श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौँ नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए ।” उनले आर्थिक समृद्धिको सवालमा लिएका महत्त्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्नेक्रम सुरु भएको बताए ।
तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको महासभा हुँदै कोप–२८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरक रूपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको बताए । आफूले अल्पविकसित राष्ट्रको पक्षमा लिएको अडान मात्र होइन, कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाईमा उठाएको बताए ।
उनले पछिल्लो सरकारको नेतृत्व गदौ शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको बताए । त्रिविमा मेरिटोक्रेसी लागू गर्ने, वर्षौंदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सङ्घीय शिक्षा ऐन सदनमा पु¥याउने काम आफ्नो नेतृत्वको सरकारले नै गरेको स्पष्ट गरे ।
अध्यक्ष प्रचण्डले अहिले ठूलाठूला शक्ति राष्ट्रहरूको अस्वस्थ प्रतिस्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताए । भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वव्यापी रूपमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उनले विद्यार्थीलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गरे ।
विदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने वामपन्थीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नसक्ने उल्लेख गर्दै उनले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले एक्काइसौँ शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







