
पोखरा, असोज १२
पोखरा महानगरपालिका वडा नम्बर–६ गौरीघाट मार्गको स्ट्रिट नम्बर–८ स्थित खेमबहादुर पौडेल (मंगल)को घरको आगनमा ईन्टरनेटको तार लत्रिएको थियो । आफ्नो घरको आगन भएर अन्यत्र कतै लगिएको ईन्टरनेटको तार लत्रिएको हप्तौं बित्दासमेत ईन्टरनेट सेवा प्रदायक कम्पनीले वास्ता गरिरहेको थिएन । दिनहुँ लत्रिएको तार पन्छाउँदै हिड्ने गरेका उनले असोज १ गतेपनि त्यसै गर्ने प्रयास गरे । दिउँसो करीब १२ः४० बजेको समय हुँदो हो ईन्टरनेटको लत्रिएको तार पन्छाउने क्रममा उनलाई करेन्टले झट्का दियो । ईन्टरनेटको तार छुँदैमा करेन्ट लाग्दैन भन्ने सुनेका उनलाई एक्कासी करेन्टले हातमा झट्का हानेपछि आत्तिए र हत्तपत्त तार हुत्याए । तर हुत्याएको तार आफ्नो घाँटीदेखि छातीहुँदै कम्मरसम्म बेरियो । करेन्टसहितको तारले बेरिएपछि उनी त्यहिं ढले । श्रीमानलाई करेन्ट लागेर ढलेको देखेपछि श्रीमती जानुका पौडेल चिच्याईन् । केहिबेर हारगुहार भएपछि उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगियो ।
करेन्टले घाँटीदेखि छातीहुँदै कम्मरसम्म र हातपनि जलेको अवस्थामा अस्पताल पु¥याइएका उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो । शुरुमा थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरेपनि स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि काठमाडौं लैजान नपर्ने भनियो । जसका कारण आफन्तले मणिपालमै राखेर उपचार गर्ने निधो गरे । तर आठौं दिनमा आएपछि उनको अवस्था थप जटिल बन्यो र नवौं दिनको दिन उनले अन्तिम श्वास फेरे ।
घटनालगत्तै पीडित परिवारले कास्की प्रहरीलाई जानकारी गरायो । प्रहरीले लत्रिएको नाङ्गो तारसहित घटनाको मुचुल्का बनायो । पीडित परिवारले दोषीमाथि कारवाही गर्न माग गर्दै प्रहरीमा शुरुमा ठाडो निवेदन र त्यसपछि ईन्टरनेट सेवा प्रदायक कम्पनी र नेपाल विद्युत प्राधिकरणबिरुद्ध किटानी जाहेरीपनि हाल्यो । तर प्रहरीले मुचुल्का तयार पार्नुबाहेक थप कारवाही प्रक्रिया अगाडि नबढाएको पीडित परिवारको गुनासो छ ।
घटना घटेको १२ औं दिनसम्मपनि प्रहरीले अनुसन्धान नगरेको मृतक खेमका भाई भरतबहादुर पौडेलले बताए । हामीले जाहेरी दिएका छौं,उनले भने,‘तर प्रहरीले अहिलेसम्म अनुसन्धान अगाडि बढाएको जानकारी छैन ।’ उनले ईन्टरनेटको तारमै हाईभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेको हो वा विद्युतको तारले कहिं छोएर त्यस्तो भएको हो भन्नेबारेमा अनुसन्धान गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । तर त्यसका लागि प्रहरीले तदारुकता नदेखाएको उनको आरोप छ ।
स्थानिय पर्यटन व्यवसायी तथा रेवान पोखराका पूर्व अध्यक्ष भीमसेन भुजेलले ज्यानमारा तार हटाउन पटक÷पटक आग्रह गर्दापनि ईन्टरनेट सेवा प्रदायक कम्पनीले बेवास्ता गरेको आरोप लगाए । उनले भने,‘उनीहरुको लापर्वाहीले आज ज्यान गएको छ । त्यसैले अनुसन्धान गरेर दोषिमाथि कारवाही गरियोस् ।’
स्थानिय महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्लले ईन्टरनेट सेवा प्रदायक कम्पनीको चरम लापर्वाहीले नै पौडेलको ज्यान गएको बताईन् । घटनाको प्रत्यक्षदर्शीसमेत रहेकी उनले भनिन्,‘लत्रिएको तार हटाउँदै हुनुहुन्थ्यो तर एक्कासी करेन्टले हानेछ । हारगुहार भएपछि हामी पुग्दा शरिरका विभिन्न भागमा जलेको देख्यौ र उद्धार ग¥यौं । उनले दोषिमाथि कारवाही र पीडितलाई क्षेतिपुर्ती दिनुपर्नेसमेत बताईन् ।
यसैबीच, दुई दर्जन संघसंस्थाहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै दोषि ईन्टरनेट केवल कम्पनीलाई कारवाही र पीडितलाई क्षेतिपुर्ती दिन माग गरेका छन् । नागरिक समाज कास्की, वातावरण संरक्षणका लागि महाअभियान कास्कीसहित पर्यटन सम्बद्ध पोखरा पर्यटन परिषद, होटल संघ पोखरा, नाट्टा गण्डकी, टान, रेवान, एगा, टेसा, डुंगा व्यवसायी समिति, नेपाल हवाई खेलकुद संस्था, भिटोफ पोखरा, ओटेफ, टेवान, नीजि क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघ, एनएमए पोखरा, नारा पोखरा, पोखरेली ट्याक्सी व्यवसायी समिति, महिला सञ्जाल बैदाम, धादिङ त्रिपूरा वाराही महिला समूह, नमूना आमा समूह, अन्नपूर्ण आमा समूह र जरेबर उज्वल दिदीबहिनी समूहले शनिबार पत्रकार सम्मेलन गरेर ईन्टरनेट केवल कम्पनीको लापर्वाहीले पौडेलको ज्यान गएको भन्दै दोषिमाथि कारवाही र पीडितलाई क्षेतिपूर्ती दिन माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले ईन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्वाहीले व्यक्तिको ज्यान जानु विडम्वना भएको बताए । उनले भने,‘कसैको लापर्वाहीले नागरिकको ज्यान जाँदापनि प्रहरी, प्रशासन मुकदर्शक बन्नु झनै विडम्वना हो ।’
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीलेपनि लापर्वाही गर्ने ईन्टरनेट कम्पनीलाई कारवाही गर्नुपर्ने बताए । पर्यटकीय केन्द्र लेकसाईडमै भएको यो घटनाले पर्यटक र स्थानियमा त्रास सिर्जना गरेको उनको भनाई छ । घटनापछिपनि तार व्यवस्थापन नभएको भन्दै तत्काल एक्सन लिएर तार व्यवस्थापन गरिनुपर्नेमा उनले जोड दिए ।
पत्रकार सम्मेलनमा पीडितका भाई भरतबहादुर पौडेलसहित विभिन्न संस्थाहरुका प्रतिनिधिहरु । तस्बिर ः सन्देश÷नागरिक
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।