प्रस्तावित प्रधान न्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०८१ मा प्रकाशित




असोज १४ काठमाण्डौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको आगामी बुधबार संसदीय सुनुवाइ गर्ने भएको छ ।

समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतका सम्बन्धमा उजुरीकर्ताहरूसँग भोलि छलफल गर्ने निर्णय गरेको हो । उनीवरुद्ध ६ वटा उजुरी परेका छन् । गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिले बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूतद्वय सेवा लम्साल र चित्रलेखा यादवविरुद्धका उजुरीकर्तासँग पनि भोलि नै छलफल गर्दैछ । उनीहरूविरुद्ध दुईवटा उजुरी परेका छन् ।

समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो । समितिले आज उजुरी खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेको छ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदूत यादवको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ । बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको भने कार्ययोजना प्राप्त हुन बाँकी छ ।

यस्तै, समितिले सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ ।

न्याय परिषद्ले निरौला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि समितिसमक्ष सूचना पठाएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।