पूर्वबाट फेरि मौसम बदली सुरु,यसको प्रभाव गण्डकीसम्म देखिने


     एभरेस्ट आवाज    
     असाेज १५ गते २०८१ मा प्रकाशित




काठमाडौँ । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भने, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छभने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।” यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताए ।

तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले भने ।

आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ ।

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।