थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का


     एभरेस्ट आवाज    
     असाेज १५ गते २०८१ मा प्रकाशित




थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरुले बसमा सवार २५ जनाको मृत्यु भएको आशंका व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन। यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताए ।
“प्रारम्भिक प्रतिवेदनअनुसार बसमा ३८ जना विद्यार्थी र ६ जना शिक्षकसहित ४४ जना रहेका थिए । हामीलाई जानकारी भएअनुसार तीन शिक्षक र १६ जना विद्यार्थी बाहिर निस्केका छन्”, उनले सञ्चारकर्मीलाई बताए ।

उथाइ थानी प्रान्तबाट विद्यार्थी बोकेर हिडेको बस उत्तरी बैंककको उपनगरको राजमार्गमा पङ्चर भएको र ठोक्किएको एक उद्धारकर्मीले जानकारी गराए । कम्प्रेस्ड ग्यासमा चलिरहेको बस ठोक्किदा इन्धन ट्याङ्की जलेर आगलागी हुन पुगेको उनले बताए।

“मैले उथाइ थानीबाट विद्यार्थी बोकेको बसमा आगलागी भएको जानकारी प्राप्त गरे, म घाइते र मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु”, पेटोङटार्नले सामाजिक सञ्जाल एक्समार्फत बताए ।

आगो नियन्त्रणमा लिएको तर शव खोज्नुअघि बस चिसो हुन पर्खनुपरेको उद्धारकर्मीले बताएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।