लेकसाईडमा भारतीय मगन्तेले पर्यटकलाई दुःख दिदै, व्यवस्थापन गर्न टान गण्डकीको आग्रह


     एभरेस्ट आवाज    
     असाेज १५ गते २०८१ मा प्रकाशित




पोखरा, असोज १५

पोखराको प्रमुख पर्यटकीय गन्तव्य लेकसाईड तथा फेवाताल किनारमा भारतीय मगन्तेले पर्यटकलाई दुःख तथा हैरानी दिने गरेका छन् । घुम्न र ट्रेकिङ गर्न आएका पर्यटकलाई ती भारतीय मगन्तेहरुले मागेर हैरान पार्नेगरेका हुन् । शुरुमा हात थापेर माग्ने र त्यसो गर्दा पैसा नदिए खुट्टा समातेर पैसा नदिएसम्म अगाडि बढ्नै नदिने गरेका छन् । जसका कारण पर्यटकहरु दिग्दार बनेका टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

यसैबीच, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले भारतीय मगन्तेले पर्यटकलाई दुःख दिएको भन्दै उनीहरुलाई तत्काल व्यवस्थापन गर्न पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले मंगलबार एक विज्ञप्ती जारी गर्दै भारतीय मगन्तेका कारण पर्यटक आक्रान्त बनेको तथा यहि कारण विश्वसामु नेपालको बदनाम हुने स्थिति भएकाले तत्काल उनीहरुको ब्यबस्थापन गर्न महानगरसँग अनुरोध गरेका छन् । ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ती भारतीय मगन्तेले पर्यटकहरुसँग जबरजस्ती पैसा माग्ने, अनावश्यक दुःख देखाई पर्यटकहरुलाई भावनात्मक पीडा दिइरहेका छन् । यस प्रकारका गतिविधिले विश्वसामु नेपालको बदनाम् हुने साथै पर्यटक आगमनमासमेत नकारात्मक असर पर्ने भएकाले ती भारतीय मगन्तेहरुको उचित व्यवस्थापन गरी पर्यटकीय राजधानी पोखराको साख जोगाउनका लागि महानगरपालिकासँग सविनय अनुरोध गर्दछौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।