गोरखाको च्याङ्लीमा युवतीको हत्या


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०८१ मा प्रकाशित




असोज २४ गोरखा । गोरखामा एक युवतीको हत्या भएको छ ।

जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । कुमाल सुतिरहेको अवस्थामा घरभित्र आक्रमण गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी निरीक्षक कार्कीले बताए ।

मृतक कुमालको दाहिने गर्धन, बाँयातर्फको कानको भागमुनि र टाउकोमा धारिलो हतियार प्रहार भएको छ । हत्या कसले गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

शव परीक्षणपछि अन्त्येष्टिका लागि आजै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।