असोज ३० काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुुरुङले राज्यका निकायमा समावेशी प्रतिनिधित्व भएपछि मात्र समग्र विकासले गति लिने बताएका छन् ।
रेडियो नेपालमा ‘दनुवार’ भाषाको आज शुभारम्भ गर्दै मन्त्री गुरुङले द्वन्द्वरहित समाज स्थापित गर्न र सुशासन कायम राख्नका लागि पनि समावेशी प्रणाली अपनाउनुपर्ने धारणा राखे ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङका अनुसार नेपाल सानो भए पनि यहाँ एक सय २३ भाषाभाषी र एक सय २७ भन्दा बढी जातजाति रहेको बृहत् देश हो । यी सबै समुदाय, धर्म, भाषाभाषिप्रति राज्यको समान पहुँच स्थापित गर्ने र अपनत्व महसुस गराउने उद्देश्यले सङ्घीय प्रणाली ल्याइएको उनले स्पष्ट पारे ।
यद्यपि हालसम्म राज्यमा समावेशीको अभ्यास भए पनि समानुपातिक समावेशी हुन अझै बाँकी रहेको उनको भनाइ छ । “समाजमा द्वन्द्व व्यवस्थापन गर्न पनि समावेशिता आवश्यक छ”, मन्त्री गुरुङले भने, “अहिले हामीले समावेशी मात्रै बनाएका छौँ, समानुपातिक बनाउन सकेका छैनौँ ।”
रेडियो नेपालमा हालसम्म २४ वटा राष्ट्र भाषामा समाचार सेवा प्रदान गरिँदै आइएकामा आजदेखि दनुवार भाषा थपगरी २५ वटा भाषा समाचार सेवा शुभारम्भ गरिएको हो । मन्त्री गुरुङले समावेशी भाषाको पहुँच र विस्तारमा मन्त्रालय सधैँ सकारात्मक रहेको बताउँदै सरकारको एक सयदिने कार्ययोजनाभित्र यो एउटा महत्त्वपूर्ण कार्यसम्पादन भएको दाबी गरे ।
मन्त्री गुरुङले रेडियो नेपाल जनताको सूचनाको मूल स्रोत भएको र यसलाई समयसापेक्ष परिमार्जन गर्ने गृहकार्य भइरहेको जानकारी गराए । दनुवार भाषाको प्रसारण शुभारम्भ कार्यक्रममा सरस्वती दनुवारको आवाजमा प्रत्यक्ष समाचार प्रसारण गरिएको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले दनुवार भाषाको समाचार सेवा प्रसारणले समग्र दुर्लभ दनुवार समुदायको भाषा, संस्कृति र इतिहास संरक्षण हुने आधार बनेको बताए । साथै दनुवार समुदायको आत्मसम्मान र पहिचानसमेत यस सेवाले स्थापित गर्नसक्ने सचिव अर्यालले धारणा राखे ।
सचिव अर्यालले सरकार मातहतका गोरखापत्र दैनिकमा ४४ वटा समावेशी समाचार, नेपाल टेलिभिजनमा सात भाषामा समाचार सेवा, राष्ट्रिय समाचार समिति(रासस)मा अवधी भाषा, नेपाल भाषा र मैथिली भाषामा पनि सेवा शुभारम्भ गरेको जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते…







