फाइल तस्विर
पोखरा, कात्तिक २
सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरिएको हो । उनलाई आजै पोखरा ल्याईंदैछ । पोखरामा उनीबिरुद्ध उजुरी परेकाले सिआईबी टोलीले पक्राउ गरेर पोखरा ल्याउने बताइएको छ । आरोपितबिरुद्ध जहाँ उजुरी प¥यो त्यहिं अनुसन्धान हुने भएकाले उनलाईपनि काठमाडौंबाट पोखरा ल्याईन लागेको कास्की प्रहरीले जनाएको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापती लामिछानेबिरुद्ध सहकारी ठगी प्रकरण र संगठित अपराधमा अनुसन्धान गर्न शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । कास्की जिल्ला अदालतले शुक्रबार रविसहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमती दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीस कृष्णजंग शाहको ईजलाशले रविसहित विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल, देवेन्द्र बाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीले जारी गरेको सूचनामा उल्लेख छ ।
रविबिरुद्ध सहकारीको ६५ करोड गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ । सहकारी सम्बन्धि छानविन गर्न बनाएको उच्च स्तरीय छानविन समितिले रवि आफैले सहकारीको रकम लगेको नदेखिएपनि उनको योजनामा गोरखा मिडियामा सहकारीको रकम गएको र सो रकम उनको हस्ताक्षर भएर वितरण भएको देखिएको उल्लेख गरिएको छ । साथै उनले गोरखा मिडियामा लिएको ‘स्वीट सेयर’बारेपनि प्रश्न उठाइएको छ । रविले बिना लगानी गोरखा मिडियामा १५ प्रतिशत स्वीट सेयर लिएका थिए ।
सोहि अपचलन रकमबारे अनुसन्धान गर्न यसअघि गोरखा मिडियाका तत्कालीन सञ्चालक छवीलाल जोशीलाई गत असोज ६ गते पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ । उनलाईपनि शुक्रबार अदालतमा उपस्थित गराई अनुसन्धानका लागि २० दिन म्याद थप गरिएको छ । उनलाई गत असोज १७ गतेदेखि लागु हुनेगरी २० दिनको म्याद थप गरिएको हो । बिचमा दशैं बिदा परेकाले म्याद थप गरिएको थिएन । जोशीलाई पहिलोपटक गत असोज ५ गते ५ दिनको, त्यसपछि ७ दिनको र अहिले पुनः २० दिनको म्याद थपेर अनुसन्धान जारी राखिएको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीको अनुसन्धानले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेडसहित ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोरखा मिडियामा गएको देखाएको छ । प्रहरीको सोहि प्रतिवेदनका आधारमा एक वर्षअघि नै गोरखा मिडिया नेटवर्कका संस्थापक गितेन्द्रबाबु राई जिवी), कुमार रम्तेललगायतबिरुद्ध सहकारी पीडितहरुले मुद्धा दर्ता गरे । पीडितहरुले पछि फेरी रविसहित १८ जनाबिरुद्ध पुरक जाहेरी दिएका थिए । पीडितले जाहेरी दिएपनि प्रहरीले त्यसलाई विभिन्न बहानामा पन्छाउँदै आएको थियो ।
पक्राउ पुर्जी जारी भएलगत्तै कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रवि लामिछानेलाई पक्राउ गरी पठाई दिन भन्दै केन्द्रीय अनुसन्धा व्यूरो (सिआईबी)लाई पत्र लेखेको छ । पत्रमा काठमाडौं महानगरपालिका वडा नम्बर–६ निवासी लालचन्द्र लामिछानेका छोरा रवि लामिछानेलाई पक्राउ गरी कास्की प्रहरी कार्यालयमा पठाई दिन अनुरोध गरिएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले रबिबिरुद्ध अनुसन्धान भइरहेको बताए । पक्राउ पुर्जी जारी भएकोबारे उनले भने,‘प्रक्रियामा छ । हामी त्यसकै लागि लागिपरेका छौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २७ साउन । लायन्स क्लब अफ पोखरा बाराही टाउनले ब्रोडपिक हिमपहिरोमा…





