‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०८१ मा प्रकाशित




कार्तिक ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् ।

सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।

“यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ गते आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रुपमा यो व्यवस्था सुरु हुनेछ”, सामाजिक सञ्जालबाट सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन् ।

नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ । कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उनले बताए ।

नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।