पोखरामा रगतको अभाव, एभरेस्ट एफएमले कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक ५

एभरेस्ट एफएमले आगामी शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएम ९३ मेगाहर्जले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराका प्राबिधिक प्रमुख अर्जुन ज्ञवालीले बताएका छन् ।

प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गर्न लागिएको एफएमले जनाएको छ । ‘अभाबका बेला नगरे, कहिले गर्ने ?’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले रगतको अभावमा आहत मनलाई राहत प्रदान गर्न रक्तदानमा सहभागी हुन आग्रह गरे ।

एफएमले गत वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदानमा १ सय ८१ युनिट रगत संकलन गर्न सफल भएको थियो । १७ देखि ६५ वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका स्वस्थ मानिसले रक्तदान गर्न सक्नेछन् । यसअघि ६० वर्षसम्मकाले मात्रै रक्तदान गर्न मिल्ने भनिदै आएका थियो तर पछिल्लो क्रममा ६५ वर्षसम्मकाले रक्तदान गर्नसक्ने जनाइएको छ । त्यस्तै उच्च रक्तचाप भई औषधी सेवन गरेकालेपनि औषधी सेवनपछि सामान्य रक्तचाप भएको अवस्थामापनि रक्तदान गर्नसक्ने रक्तसञ्चार केन्द्रले जनाएको छ ।

रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वस्थ बनिने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरी कम भई शरिरको तौल घटाउन सहयोग पुग्ने बताइन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।