आन्दोलनको स्वरुप फेर्दै रास्वपा, भोलिदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक ८

पोखरेलीको अपेक्षित साथ नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरुप फेर्ने भएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शन गर्दै आएको थियो । अदालतबाट न्याय निरुपण हुने क्रममा रहेको सो विषयलाई सडकमा भीड जम्मा गरेर प्रभावित गर्ने उद्देश्यले आयोजित विरोध प्रदर्शनमा पोखरेलीको अपेक्षित साथ मिलेन । जसका कारण रास्वपा आन्दोलनको स्वरुप फेर्न बाध्य भएको हो ।

त्यतिमात्र होईन, भीडबाट न्याय प्रभावित गर्न उद्यत रास्वपाको आन्दोलन चलिरहँदा सहकारी बचत पीडितहरुले विहीबारदेखि बृहद प्रदर्शन शुरु गरेका छन् । रास्वपाले आन्दोलन गरिरहेकै स्थल वरपर सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिको आह्वानमा सहकारी बचत पीडितहरुले बृहद प्रदर्शन शुरु गरेका हुन् । जसका कारणपनि रास्वपा हच्किएको छ । एकातिर पोखरेलीको अपेक्षित साथ नमिल्नु र अर्कोतर्फ सहकारी बचत पीडितहरु थप आक्रोसित हुनु र आफूहरुको काउन्टरमा विरोध प्रदर्शन शुरु भएपछि रास्वपा आन्दोलनबाट ब्याक भएको श्रोत बताउँछ ।

रास्वपाले विहीबारदेखि नै आन्दोलनको स्वरुप फेर्ने जनाएको छ । यसअघि विरोध प्रदर्शनलाई शक्ति प्रदर्शनका रुपमा लगेको थियो । त्यहि भएर उसले सतहत्तरै जिल्लामा हरेक जिल्लाबाट एक सय जना उपस्थित हुन सर्कुर जारी गरेको थियो । त्यतिमात्र होईन, आन्दोलनमा सहभागी हुन आएकालाई अनिवार्य सहभागी हुन र आन्दोलनबाहेकका घुमफिर तथा अन्य कुनैपनि प्रकारका तस्बिरहरु नराख्न उर्दि जारी गरेको थियो । तर सर्कुलर अनुसार उपस्थित नहुनु र पोखरेलीकोपनि साथ नपाएपछि विहीबारदेखि नै सांकेतिक विरोध प्रदर्शनमा परिणत गर्ने तयारी रास्वपाले गरेको हो । रास्वपा उप–सभापती स्वर्णिम वाग्लेले आन्दोलनको स्वरुप विहीबारबाटै फेरिने बताए । हाम्रो आन्दोलन आजबाटै सांकेतिक रुपमा जान्छ,उनले भने,‘त्यो कस्तो हुन्छ तपाईंहरुले थाहा पाईहाल्नु हुन्छ ।’ उनका अनुसार विहीबारको प्रदर्शनमा रास्वपाले भीड जम्मा नगरी गर्छ ।

रास्वपा गण्डकी प्रदेश संयोजक राजन गौतमले आफूहरुको आन्दोलन अब काठमाडौं केन्द्रीत हुने बताए । हाम्रो पोखरा केन्द्रीत आन्दोलन एक हदसम्म सफल भयो,उनले भने,‘अब आन्दोलनलाई भोलिदेखि काठमाडौं केन्द्रीत गर्छौं ।’ सत्तारुढ ठूला दललाई देखाउनपनि काठमाडौं केन्द्रीत आन्दोलन गर्न लागेको उनले बताए ।

रास्वपा प्रवत्ता मनिष झाले सहकारी बचत पीडितको आन्दोलनमा घुसपैठ हुने देखेकाले मूठभेड नहोस् भन्नका लागि आन्दोलनको स्वरुप फेरेको बताए । पीडितको नाममा आह्वान भएको सो आन्दोलनमा कांग्रेस, एमालेले सहभागी भई घुसपैठ गर्न सर्कुलर नै जारी गरेको भन्दै उनले भने,‘त्यसको प्रमाण हामीसँग छ । यसले अर्को रुप नलियोस् भन्नेमा हामी सचेत छौं ।’

पोखरेलीको अपेक्षित साथ नमिलेको बारे भने रास्वपा नेताहरु कसैलेपनि ठोस जवाफ दिएनन् । बरु पोखरेलीको नैतिक समर्थन रहेको भन्दै प्रवक्ता झाले भने,‘व्यवसायीहरु व्यवसायमा हुनुहुन्छ । पर्यटन व्यवसायीहरु त्यतै व्यस्त हुनुहुन्छ । तर उहाँहरुले हामीलाई पानी खुवाउनु भएको छ । नैतिक समर्थन छ भन्नु भएको छ ।’

सहकारी बचत पीडितहरुलेचाहिं तपाईंहरुबिरुद्ध आन्दोलन गर्ने परिस्थिति कसरी बन्यो भन्ने प्रश्नमापनि रास्वपा नेतृत्वले आलटाले जवाफ दिए । पीडितको पक्षमा हुनेगरी आफूहरुले प्रतिवेदन बुझाएको, सदनमा आवाज उठाएको उनीहरुको भनाई थियो । पीडितहरु त तपाईंहरुको विपक्षमा उत्रिए नि भन्ने प्रश्नमा झाले त्यस्तो नरहेको दाबी गरे । उनले भने,‘आन्दोलन आह्वान गर्नेहरु सहकारीको विषयलाई राजनीतिकरण गर्न चाहन्छन् । तर अन्य धेरै सहकारी बचत पीडितहरुले हामीलाई पानी खुवाएका छन् । आन्दोलनमा समर्थन जनाएका छन् ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।