रविलाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमती


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक ८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछानेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका उनलाई कात्तिक ४ गते अदालतमा उपस्थित गराइएको थियो । सो दिन कात्तिक ३ गतेबाटै लागु हुनेगरी पहिलो पटक ६ दिन म्याद थपिएको थियो । तर विहीबारसम्मपनि अनुसन्धान नसकिएको भन्दै दोश्रो पटक ७ दिन म्याद थपिएको हो ।

रविसँगै सोहि मुद्धामा पक्राउ परेका पूर्व डिआईजी छवि लामिछाने र कमला पछाईलाईपनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

विहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएका उनको विषयमा थुनछेक बहस चलेको थियो । थुनछेक बहसका क्रममा सरकारी वकीलको तर्फबाट २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग दाबी गरिएको थियो । विभिन्न कार्यालयबाट मागेको प्रमाण आउन बाँकी रहेकाले थुनामा राखेर अनुसन्धान गर्न उनीहरुले समय माग गरेका थिए ।

रविको तर्फबाट सांसदसमेत रहेकी सोविता गौतमसहितका बहस गरेका थिए । बहसका क्रममा रास्वपा सभापती रवि लामिछाने आक्रोसित भएका थिए । आफूलाई प्रतिशोध साँधिएको भन्दै उनले बिना कारण अनुसन्धान लम्ब्याइएको गुनासो गरे । जतिसुकै राजनीतिकरण गरेपनि र प्रतिशोध साँधेपनि आफूलाई न्यायालयप्रति भने विश्वास रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।