पोखरा, कार्तिक १२ । गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट आएका वामपन्थी ज्येष्ठ नागरिकहरूको दुई दिने मिलन कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू, जो नेपालको सामन्तवाद र राजतन्त्रविरुद्ध संघर्षमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए, उनीहरूले आफ्नो योगदानलाई स्मरण गर्दै सामूहिक रूपमा विभिन्न प्रस्ताव पारित गरेका छन्।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले नेपालको कम्युनिष्ट आन्दोलनले पुँजीवादी जनवादी क्रान्ति, गणतन्त्र स्थापनाको यात्रा, र समाजवादको जग बसाल्न खेलेको भूमिकाको स्मरण गर्दै गर्व महशुस गरेका छन्। ११ बुँदे प्रस्तावमा शहीद, वेपत्ता योद्धाहरूप्रति सम्मान, वाम एकताको आह्वान, सहकारी क्षेत्रमा भइरहेको भ्रष्टाचारको भण्डाफोर, र राष्ट्रियतासम्बन्धी मुद्दाहरू समेटिएको छ।
प्रमुख प्रस्तावहरूमध्ये गण्डकी प्रदेशस्तरीय कम्युनिष्ट आन्दोलनको इतिहासलाई संरक्षित गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ। साथै, देशका सीमाक्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपको विरोध गर्दै, कुटनीतिक वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्न सरकारलाई आग्रह गरिएको छ।
सहकारी क्षेत्रमा भएको भ्रष्टाचारका घटनामा दोषीलाई कडा कारबाही गर्न र पीडित जनताको बचत रकम फिर्ता गर्ने पहल गर्न पनि यो भेलाले सरकारको ध्यानाकर्षण गराएको छ।
वामपन्थी नेता कृष्ण आचार्यले अध्यक्षता गरेको कार्यक्रममा वाम एकता र समाजवादको यात्रा निरन्तर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै, यो कार्यक्रमले समाजको प्रगतिशील रूपान्तरणमा जोड दिएको छ।
कार्यक्रममा सहभागीले नेपालको राजनीतिक तथा सामाजिक रूपान्तरणमा वामपन्थी आन्दोलनको ऐतिहासिक योगदानको स्मरण गर्दै समाजवादको दिशामा अघि बढ्न ११ बुँदे प्रस्ताव पारित गरेका छन्।
प्रमुख प्रस्तावहरू :
१)क्रान्तिकारी योगदानको सम्मान – वामपन्थी आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरू, घाइते योद्धा, र वेपत्ता योद्धाहरूको बलिदानी भावनाको सम्मान गर्दै भेला सहभागीहरूले समाजको प्रगतिशील रूपान्तरणमा उनीहरूको योगदानलाई उच्च सम्मान व्यक्त गरे।
२)वाम एकता र संवादको आवश्यकता – वाम एकताको आवश्यकता महसुस गर्दै सहभागीले वामपन्थी दलहरूलाई आपसी कटुता त्यागी वैचारिक एकता र समाजवादको यात्रामा अघि बढ्न आह्वान गरे।
३) स्वास्थ्यका कारण अनुपस्थित कम्युनिष्ट मित्रहरूको सम्मान – सहभागी हुन नसकेका ज्येष्ठ क्रान्तिकारीहरूको योगदानको स्मरण गर्दै उनीहरूको सुस्वास्थ्य र दीर्घायुको कामना व्यक्त गरियो।
४)वामआन्दोलनको इतिहासको दस्तावेजीकरण – सहभागीहरूले वामपन्थी नेताहरू र योद्धाहरूको योगदानलाई आगामी पुस्तामा हस्तान्तरण गर्न अभिलेख तयार पार्ने प्रतिबद्धता जनाए।
५)सहकारी क्षेत्रमा सुधारको आह्वान – सहकारी क्षेत्रमा देखिएका भ्रष्टाचार र रकम हिनामिनाले जनताको भोगाइलाई असर पुर्याएको भन्दै सहभागीले दोषीमाथि कारबाही र पीडितलाई राहतको माग गरे।
६)वर्तमान आर्थिक नीतिको विरोध – निजीकरण र उदारीकरण नीतिले शिक्षा, स्वास्थ्य, कृषि, र उद्योग क्षेत्रलाई कमजोर बनाएको भन्दै सहभागीले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको पक्षमा आवाज उठाए।
७)सीमा अतिक्रमणविरुद्ध सरकारको ध्यानाकर्षण – नेपालको कालापानीलगायत सीमाक्षेत्रमा जारी भारतीय हस्तक्षेपको विरोध गर्दै सहभागीले कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारलाई आग्रह गरे।
८)विदेशी हस्तक्षेपको विरोध – देशको राजनीतिक प्रक्रियामा विदेशी हस्तक्षेप बढेको भन्दै सहभागीले नेपालका नीति र निर्णयमा बाह्य शक्ति राष्ट्रहरूको हस्तक्षेप रोक्न सरकारसँग माग गरे।
९)असमान सन्धि खारेजीको माग – नेपालको स्वाभिमान र अखण्डतामा आँच आउने पुराना असमान सन्धिहरूको खारेजीका लागि सरकारलाई पहल गर्न जोडदार माग गरियो।
१०)रुस-युक्रेन युद्धको शान्तिपूर्ण समाधानको चाहना – रुस(युक्रेन युद्धले बढेको संकटप्रति चिन्ता व्यक्त गर्दै सहभागीले शान्तिपूर्ण समाधानको समर्थन जनाए।
११)प्यालेस्टाइनी जनताको समर्थन – प्यालेस्टाइनी जनतामाथि इजरायली ज्यादतीको विरोध गर्दै यो समस्याको स्थायी समाधानका लागि संयुक्त राष्ट्रसंघलाई हस्तक्षेप गर्न आग्रह गरियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






