पोखरामा भाईटीका महोत्सव सम्पन्न, १२ देशका ५६ पर्यटकले लगाए भाईटीका


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक १८

पोखरामा आईतबार आयोजित भाईटीका महोत्सवमा १२ देशका ५६ जना विदेशी पर्यटकले भाईटीका लगाएका छन् । नेपालीको दोश्रो ठूलो चाँड तिहारको मुख्य दिन भाईटीकाको अवसरमा होटल संघ पोखराले हरेक वर्ष आयोजना गर्दै आएको भाईटीका महोत्सवमा आज ती पर्यटकलाई सामुहिक भाईटीका लगाईएको हो । भाईटीका महोत्सवको १७ औं श्रृंखला पोखराको लेकसाईडस्थित ल्याण्डमार्क होटलमा आयोजना गरिएको थियो । महोत्सवमा ईजरायल, रसिया, चीन, पोल्याण्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापान लगायतका देशका पर्यटकले सहभागिता जनाएको संघका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार पर्यटकको संख्या उल्लेख्य भएपछि तीन चरण गरेर पर्यटकलाई भाईटीका लगाइएको छ ।

‘संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा चिल्ड्रेन होम नेपालका छात्राहरुले भाईटीका लगाईदिए । उनीहरुले विदेशी पर्यटकहरुलाई सप्तरंगी टिका लगाईदिए पश्चात उपहार स्वरुप ढाका टोपी लगाइदिनुका साथै सेलरोटी खुवाए । भाईटीका लगाएर उपहार आदानप्रदान भएपछि तिनै छात्राहरुले तिहारको आकर्षणका रुपमा रहेको देउसीभैलो खेल्दै नाचगानसमेत गरेर मनोरञ्जन प्रदान गरे ।

नेपाली संस्कृति अनुसार भाईटीका लगाएर नाचगानसमेत हेरेपछि पर्यटकहरु प्रफूल्ला भए । उनीहरुले नेपाली संस्कृति र परम्परा गज्जवको भएको प्रतिक्रिया दिए । नेपाली नाम लिला राखेकी एक चिनिया पर्यटकले भने,‘भाइटिका लगाउन पाउँदा एकदम प्रफुल्लित भएँ । पोखरा प्राकृतिक र सांस्कृति दुबै हिसाबले अत्यन्त धनी रहेछ ।’

संघले वर्षौं अघि शुरु गरेको भाईटीका महोत्सव पर्यटकलाई संस्कृति देखाएर आकर्षित गर्ने प्रयास भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पारिवारिक वातावरण दिएर संस्कृतिमार्फत पर्यटक आकर्षित गर्ने हाम्रो प्रयास हो,उनले भने,‘यसले पर्यटकलाई दोहो¥याएर पोखरा आउने वातावरण बनाउँछ ।’

संघका महासचिव राजेन्द्र ढकालले नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवलाई नेपाल पर्यटन वोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।